काठमाडौँ, ७ बैशाख २०७७ । नेपाली कांग्रेसले राहत वितरणका क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी बैठकले राहत वितरणमा अनियमितता भएको ठहर गर्दै सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न माग गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व रहेका स्थानीय तहहरूमा राहत वितरण पक्षपातपूर्ण भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयो । विभिन्न स्थानीय तहबाट राहत वितरण पक्षपातपूर्ण भएको गुनासो आएकाले सर्वदलीय संयन्त्र बनाएर अनुगमनको व्यवस्था गर्न उनले माग गर्नु भएको छ । केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहत लक्षित समूहसम्म नपुगेकाले द्रुत गतिमा राहत पुर्‍याउन पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

‘सत्तारुढ दलले विजय हासिल गरेका कतिपय स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको भन्ने विषयलाई कांग्रेसले गम्भीर रूपमा लिएको छ । राहत वितरणको कार्यलाई न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै बैठकले स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न आग्रह गरेको छ,’ उहाले भन्नुभयो ।

राहतस्वरूप बैंकको व्याज मिनाहा गर्न सकिनेहरूको मिनाहा गर्न र न्यून गर्न सकिनेहरूको हकमा कम गर्ने गरी अगाडि बढ्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ । कांग्रेसले अप्ठ्यारोमा परेका नागरिकका लागि सुरक्षित ढंगले जाने व्यवस्था गर्न पनि माग गरेको छ । साथै, बाटोमा रहेका नागरिकलाई भोको पर्न नदिन आफ्ना कार्यकर्ताहरूलाई अपिलसमेत गरेको छ ।

त्यसैगरी, विदेशमा रहेका श्रमिक र विद्यार्थीलाई पर्याप्त राहत नपुगेको विवरण सरकारसमक्ष ध्यानाकर्षण गराउने र कूटनीतिक पहलका लागि आग्रह गर्ने निर्णय पनि कांग्रेस पदाधिकारी बैठकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here