काठमाडौँ, मंगलबार, १६ बैशाख २०७७ । देशभर आज पनि अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधनहरु चलिरहेका छन् ।

लकडाउनको ३६ औं दिन आज पनि अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । लकडाउनको अवज्ञा गर्दै चलाएका ८ सय १४ सवारी साधनलाई आज काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

७ सय २१ ओटा दुई पाङ्ग्रे र ९३ ओटा चार पाङग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको र पुराना तथा म्याद सकिएका १२ ओटा सवारी साधनका पास पनि ट्राफिक प्रहरीले होल्ड गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारका सदस्यको मृत्यु संस्कारमा जानेहरुका लागि मात्र पास वितरण गर्ने जनाएको छ । सवारी पासको माग अत्यधिक बढ्नुका साथै भिडभाड हुन गई लकडाउनको समेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले गर्दा उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पास जाँच गर्ने क्रममा काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट एक हजार बढी सवारीसाधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएसंगै साँझसम्म यो संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

पछिल्ला दिनमा लकडाउन उल्लंघन बढ्न थालेसँगै सोमबारदेखि लकडाउनमा कडाई गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here