काठमाडौं, बुधबार, ३१ बैशाख २०७७ । सरकारले भोलि (बिहिबार ) देखि लागु हुनेगरी लकडाउन कडा गर्ने भएको छ । कोरोना भाइरसका संक्रमित देशैभर देखिनथालेपछि लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो ।

१ जेठबाट लागु हुने गरी पुराना पास सबै रद्द हुनेछन् । नयाँ पास लिन परिस्थिति हेरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मात्र नभई कतिपय अवस्थामा गृह मन्त्रालयको समेत अनुमति लिनुपर्नेछ ।

हिजो एकै दिन किर्तिमानी ८३ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडा गर्न निर्देशन दिएपछि गृहले तत्काल कडा कदम चाल्ने टुंगो लगाएको हो । जुन भोलिबाट लागू हुनेछ ।

अब एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइनेछ । अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनिवार्य अनुमति लिनुपर्नेछ । सञ्चालन हुनपाउने सवारी साधनको आवश्यकता र अनिवार्यतालाई हेरेर छुट दिइनेछ ।

गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको छ । अत्यावश्यकलाई मात्र नयाँ पास वितरण हुनेछ । अब परिचयपत्रको भरमा सडकमा निस्कन पाइनेछैन ।

अब निस्कनुअघि के के ख्याल गर्नुपर्छ

पास नलिई ननिस्कनुहोला ।

अर्को जिल्लामा जानका लागि दुवै जिल्लाका सिडिओको पास विना नहिड्नुहोला ।

सरकारी कर्मचारी भए आवश्यकता र अनिवार्यलाई हेरेर कार्यालय समय पुग्न र फर्कने टाइममा हेर्नुहोला ।

बैक तथा वित्तिय संस्थाका कर्मचारी भएपनि पास आवश्यक पर्नेछ ।

खाद्यान्न ढुवानीलगायतका लागि पनि तोकिएको समयमा मात्र सञ्चालन अनुमति छ । अर्को जिल्लामा जान पासको आवश्यकता पर्नेछ ।

पत्रकारले बाहिर निस्कँदा सुचना विभागको प्रेस पास लिनुपर्नेछ ।

गृहले बनाएको सवारी पासको नीति

१) एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका ईपाससहित सबै सवारी पास रद्द ।

२) अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनिवार्य स्वीकृतिमा मात्रै जारी गर्नुपर्ने ।

३) अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने ।

४) त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने ।

५) पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here