एजेन्सी, सोमबार, ८ असार २०७७ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको जनाएको छ । पछिल्लो २४ घन्टामा संसारभर १ लाख ८३ हजार २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको डब्ल्युएचओले जनाएको छ ।

दक्षिण अमेरिकी देश र दक्षिण एसियाली देशमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । लकडाउन खुकुलो पारिएसँगै संक्रमितको संख्या थप बढेको हो । दक्षिण एसियाका भारतलगायतका देशमा पनि संक्रमितको संख्या दैनिक रेकर्डमा पुग्न थालेको छ । पछिल्लो २४ घन्टामा भारतमा १५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

चार दिन अघि अर्थात जुन १८ मा १ लाख ८१ हजार २ सय ३२ जनामा संक्रमण देखिएको थियो । ब्राजिल, मेक्सिकोलगायतका देशमा अहिले संक्रमितको संख्या ह्वात्तै बढेको छ । मृत्यु हुनेको संख्या पनि बढी रहेको छ । ब्राजिलमा ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ ।

संसारभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख ४६ हजार २ सय १५ पुगिसकेको छ भने ४ लाख ७० हजार ७ सय ३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४८ लाख ३८ हजार ३ सय ५९ जना उपचारपछि घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here