काठमाडौं, बिहिबार, ४ भाद्र २०७७ । निषेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १ सय ७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६ सय ९२ वटा दुई पाङग्रे र १ सय ९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी प्रभागका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा निषेधाज्ञाको पूर्ण रुपमा पालना भएको जानकारी दिनुभयो । निषेधाज्ञामा पनि बाहिर हिडडुल गर्ने काठमाडौका ४ सय ३७ जना, ललितपुरका ४ सय ९८ जना र भक्तपुरमा २ सय ३५ जनालाई होल्डमा राखेको हो ।

उपत्यकाको सडकमा मात्रै निषेधाज्ञाको पूर्ण रुपमा कार्यान्वयन गराउन ३३ सय प्रहरी परिचालन भएको एसएसपी यादवले जानकारी दिनभुयो ।
उपत्यकामा भाद्र ४ गते देखि १० गतेसम्मको लागि जारी गरेको निषेधाज्ञा पहिलो दिन बिहिबार काठमाडौ, भक्तपुर र ललिलपुरमा पुर्णरुपमा पालना गराउन प्रहरी सकृय भएको उहाँले बताउनुभयो ।

महानगरीय प्रहरी वृत जगातीका डिएसपी चक्रराज जोशीले बिना काम बाहिर निस्कनेहरुलाई दुई घन्टा होल्डमा राखिएको जानकारी दिनुभयो । बिना पास र अत्यावश्यक सेवा बाहेकले हिड्ने सवारी साधनहरुलाई समेत प्रहरीले होल्डमा राखेको छ ।

काठमाडौंका मुख्य सडक तथा शाखा सडकहरुमा अतिआवश्यक कामका बाहेक अन्य सवारी साधनहरु संचालन भएका छैनन् । उपत्यकामा प्रवेश गर्ने साँगा, थानकोट नाकामा निक्कै कडाइ गरिएको प्रहरीले जनाएको छ । पहिलो दिने भएकाले निषेधाज्ञा उल्लंघन गर्नेलाई सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने एसएसपी यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here