ललितपुर, आइतबार, २८ भाद्र २०७७ । पछिल्लो २४ घण्टामा ललितपुर जिल्लामा एकै पटक ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज आइतबार काठमाडौं उपत्यकामा थपिएका ५ सय ९७ जना कोरोना संक्रमित मध्य ३३ जना कोरोना संक्रमित ललितपुर जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार १ सय ६५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ समेत गरी ३ सय ६५ जना महिला र ६ सय ७४ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । बितेको २४ घण्टामा थप १ हजार १ सय ७३ जना संक्रमण मुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । कुल संक्रमितको ७१.५ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमण मुक्त हुनेको संख्या बढीरहेको छ ।

हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्य होम आईसोलेसनमा ७ हजार ३ सय ८७ जना र संस्थागत आईसोलेसनमा ७ हजार ७ सय ३० जना छन् । ति मध्य १ सय ६९ जना संक्रमितको आईसियु र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ५ सय ३६ जना रहेका छन् । काठमाडौंसहित, मोरङ, सुनसरी, सर्लाही, चितवन, भक्तपुर, ललितपुर र रुपन्देही गरी ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् । कोरोना भाइरस संक्रमणका कारण नेपालमा हालसम्म ३ सय ४५ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ९ जनाले ज्यान गुमाएका छन् ।

हिजो शनिबार नेपालमा १ हजार २ सय १ जनामा संक्रमण पुष्टि भएको थियो । ८ सय ५२ जना संक्रमणमुक्त भएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here