ललितपुर, बिहिबार, २५ असार २०७७ । ललितपुरमा पछिल्लो ३ दिनमा कोरोना संक्रमितको संख्या बढेको पाइएको छ । सोमबारदेखी बुधबारसम्म जिल्लामा ३९ जना नयाँ संक्रमित भेटिएका छन् । आइतबारसम्म जम्मा १९ जना संक्रमित रहेको ललितपुरमा सोमबार ह्वात्तै संक्रमित संख्या बढेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

मंगलबार १० जनामा कोरोना भएकोमा बुधबार ७ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कार्यालयका अनुसार ३ दिनमा ललितपुर महानगरपालिकामा २३ जनामा, गोदावरी नगरपालिकामा ९ जनामा, महालक्ष्मी नगरपालिकामा ५ जनामा, कोन्ज्योसोम गाउँपालिका र महाङ्काल गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार ललितपुर महानगरपालिकामा ४ जना, महालक्ष्मी नगरपालिकामा ५ र कोन्ज्योसोम गाउँपालिकामा १ जना गरी ७ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ७ जना संक्रमित थपिएसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार संक्रमित बढ्दै जाँदा पनि मानिसहरुले वेवास्था गरिरहेको प्रति दुख ब्यक्त गरेका छन् ।

बुधबार ललितपुर महानगरपालिका पाटन बस्ने २६ वर्षका पुरुष, महानगरपालिकाकै ३२ वर्षका पुरुष, महानगरकै वडा नं. २० का ३२ वर्षका पुरुष, महानगरकै बुंगमतीका १९ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकाका ३६ वर्षीया र ५५ वर्षीया महिलासहित कोन्ज्योसोम गाउँपालिका चौघरे बस्ने साढे ७ वर्षका बालकमा पनि कोरोना परिप्क्षण गर्दा रिपोट पोजेटिभ आएको छ । जिल्लाका एक महानगर, २ नगरपालिका र ३ गाउँपालिकासहित सबै ६ वटै स्थानीय तहमै कोरोना संक्रमित देखिइसकेको छ । पछिल्लो ३ दिनको रेकर्डमा कसैले बाग्मती गाउँपालिकालाई पनि राखेपनि नराखेपनि यसअघि नै गाउँपालिकाको प्युटारमा कोरोना देखिइसकेको छ ।

ललितपुरमा मंगलबार ललितपुर महानगरपालिकामा ५, गोदावरी नगरपालिकामा ४ र महाङ्काल गाउँपालिकामा १ जना गरी १० जनामा संक्रमण देखिएको हो । यसअघि आइतबारसम्म १९ जनामा संक्रमण भएकोमा सोमबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी भएको थियो ।

थपिएका संक्रमितहरुमा १० जना पुरुष र १२ जना महिला रहेका थिए । डा. गेलालका अनुसार ललितपुर महानगरपालिकामा सबैभन्दा धेरै १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यहाँ ६ पुरुष र ८ महिलामा संक्रमण भएको थियो । यस्तै गोदावरी नगरपालिकामा ३ पुरुष र २ महिलासहित ५ जनामा र महालक्ष्मी नगरपालिकामा २ महिला र १ पुरुष गरी ३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय स्रोतका अनुसार पाटन, नर्भिक, मेडिसिटी , अल्का, स्टार अस्पतालका चिकित्सकसहित केही स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here