ललितपुर, आइतबार, ११ साउन २०७७ । ललितपुरमा प्रारम्भिक द्रुत लेखाजोखा तालिम आयोजना गरिएको छ ।

शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल युएनडिपीको सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो ।

ललितपुर महानगरपालिका– १६ र १९ मा सञ्चालन भइरहेको बहुप्रकोपीय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण गर्ने कार्यक्रम अन्तर्गत उक्त तालिमको आयोजना गरिएको कार्यक्रमका सहायक अधिकृत अभिषेक ओझाले जानकारी दिनुभयो ।

तालिमको शुरुआतमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले तालिमबाट विपद् जोखिमको पहिचान, मापन, आवधिक विश्लेषण र विपद्प्रतिको जनचेतना अभिवृद्धि गरी स्थानीयस्तरमा प्रतिकार्य कार्य अघि बढाउन तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘आपतकालीन समयमा चुस्त प्रतिकार्यका लागि स्थानीय तहले प्रभावकारी पूर्वतयारी गर्दै झनै राम्रो परिस्थिति निर्माणको प्रत्याभूति गराउनु अहिलेको सर्वाधिक ठूलो आवश्यकता हो, वडाअध्यक्ष शाक्यले भन्नुभयो ।

तालिम अवधिभर विपद्, नेपालमा विपद्, विपद् व्यवस्थापन चक्र, विपद् जोखिम व्यवस्थापन सम्बन्धी ऐन, कानून संघीय सरकारदेखि स्थानीय तहसम्म विपद्को संरचना र जिम्मेवारी, आधारभुत्त मानवीय सहयोग र मापदण्ड विपद् लेखाजोखा निर्देशिका परिचय र महत्व र प्रकारबारे सम्बद्ध व्यक्तिले आफ्नो प्रस्तुती राख्नु भएको थियो । तालिमका सहभागीहरुलाई विपद् जोखिमको बुझाई, प्रतिकार्य क्षमता अभिवृद्धिमा सघाउने विश्वास गरिएको युएनडिपीका प्रतिनिधि हिमाल ओझाले बताउनुभयो ।

सहभागीहरुलाई समूह छलफल, प्रश्न उत्तर, प्रयोगात्मक अभ्यास र विभिन्न श्रव्यदृश्यको माध्यमबाट तालिम दिइएको छ । पहिलो चरणको तालिममा महिला समूह, विपद्मा कार्यरत युवा, नेपाल प्रहरी, नगर प्रहरी, दमकलका र विभिन्न टोल सुधार समितिका प्रतिनिधि गरी २५ जनाको सहभागिता रहेको थियो ।

१९ वडालाई लक्षित गरी दोस्रो चरणको तालिम साउन १३ गते मंगलबार शुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here