ललितपुर, शुक्रबार, ९ जेठ २०७७ । महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरको एक घर सिल गरिएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीमध्येका एक प्रहरी नायब निरीक्षककी आमा छ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको कन्टयाक्ट ट्रेसिङमार्फत जानकारी पाएपछि स्थानीयवासीले त्रासका कारण मिलेर बिहीबार सिल गरिएको हो।

सोही घरमा आमासहित नौ मानिस बस्दै आएका छन् । उनीहरुको पिसिआर  विधिद्वारा कोरोना परीक्षण नभएसम्म बाहिर कसैसँग सम्पर्क नहोस् भनी स्वीकृति लिएर घर बन्द गरिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताउनु भयो  ।यहाँले भन्नुभयो, “हामी उनीहरुको कोरोना परीक्षणको नतिजा नआएसम्म आवश्यक सबै वस्तुलगायत खाद्यान्नको व्यवस्था गरिदिने छौँ ।” स्वाब परीक्षणको नतिजा आएपछि मात्र सो घरको सिल खोलिने श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि सिद्धिपुरमा बाहिरी जिल्लाबाट आई मानिस बसेका सूचनाका आधारमा वडा कार्यालय र स्थानीयवासी मिलेर गत बुधबार र बिहीबार चार घर बन्द गरेका थिए । ती घरमा गरिएको सिल भने हाल खोलिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here