माननीय सभाध्यक्ष, मन्त्रीज्यूहरू, महानिर्देशकज्यू, क्षेत्रीय निर्देशकज्यू,
विशिष्ठ प्रतिनिधिज्यूहरू,
उपस्थित महिला तथा सज्जनवृन्द,

सर्वप्रथम, म क्षेत्रीय निर्देशक र उहाँको टीमलाई यी कठिन घडीमा समेत कडा परिश्रमका साथ कार्य गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु । नेपालले नियमित रूपमा प्राविधिक मार्ग निर्देशनका साथै आवश्यक सहयोग समेत यस अवधिमा पाएको छ, जुन साह्रै नै सराहनीय रहेको छ ।

आम नेपालीका साथै दक्षिणपूर्वी क्षेत्रका जनताको स्वास्थ्यका लागि उपलब्ध गराएको प्राविधिक मार्ग निर्देशन, सहयोग र सहकार्यका लागि म विशेष आभार प्रकट गर्न चाहन्छु । यस अवसरमा विश्व स्वास्थ्य संगठनका कर्मचारीहरूले गरिरहनु भएको कार्यको म प्रशंसा गर्न चाहन्छु ।उहाँहरू कोभिड-१९ को प्रतिकार्यका साथै अत्यावश्यक सेवा र जनस्वास्थ्यका गतिविधिहरूको निरन्तरताका लागि महत्वपूर्ण भूमिका निर्वाह गरि राख्नु भएको छ ।

सभाअध्यक्ष ज्यू,

सन् २०१९ मा नेपालले हेपाटाइटिस बी नियन्त्रणको लक्ष्य यस क्षेत्रका अन्य तीन देश सहित हासिल गर्यो । त्यस्तै, नेपालले क्षयरोगको प्रकोप थाहा पाउन राष्ट्रिय सर्वेक्षण गर्न सफल भयो जसले क्षयरोग अन्त्य गर्ने रणनीति तथा योजना बनाउन अद्यावधिक र महत्वपुर्ण सूचना उपलब्ध गराएको छ । उक्त तथ्यांकमा आधारित भएर नेपाल अहिले क्षयरोगका लागि नयाँ रणनितिक योजना विकास गरिरहेको छ ।

त्यस्तै, नेपालले विगतमा सुदृढ गरेको आपतकालीन स्वास्थ्य तयारीले कोभिड-१९ को महामारीको प्रतिकार्य गर्न सहयोग गरेको छ। यसका अतिरिक्त नेपालले विगतमा हासिल गरेका पोलियो उन्मुलन, रूवेला नियन्त्रण, ट्रकोमा नियन्त्रण आदि जस्ता उपलब्धिहरूलाई कायम राख्न सफल भएको छ । विश्व स्वास्थ्य संगठनसंगको सहकार्यमा हामीले हासिल गरेका धेरै उपलब्धिहरूमध्ये यी केही दृष्टान्त मात्र हुन् ।

सभाअध्यक्ष ज्यू,

२०२० को शुरुवातदेखि नै हामी सबै जना कोभिड-१९ को विश्वव्यापी महामारीको प्रतिकार्यका लागि संघर्षरत रहेका छौं । यसले केवल मानव स्वास्थ्यमा मात्रै नकारात्मक असर पारेको छैन ताकी सामाजिक र आर्थिक क्षेत्रहरूमा पनि व्यापक असर गरेको छ । यस महामारीले स्वास्थ्य प्रणाली र स्रोतहरूमा अत्यधिक दबाब सृजना गरेको छ । म अंग्रपंक्तिमा अथकरूपले सेवा प्रदान गरीरहनु भएका स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु ।

परिक्षण, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर सुदृढ गर्दा पनि बढ्दो संक्रमितहरूको संख्याले रोग नियन्त्रणका लागि थप कृयाकलापहरू र श्रोतहरूको आवश्यकता बढाउदै लगेको छ । खासगरी बढी जनघनत्व भएका प्रमुख शहरहरूमा बढी प्रभाव परेको छ।

भूकम्प र तत्पश्चात् थुप्रै स-साना स्वास्थ्य आपतकालीन अवस्थाहरूको प्रतिकार्यका सिकाईहरू खासगरी स्वास्थ्य आपतकालिन संचालन केन्द्रहरूको स्थापना, इमरजेन्सी मेडिकल डिप्लयमेण्ट टीमहर, हब-अस्पतालहरू संजालको बिस्तार आदिले हाम्रो तयारी र प्रतिकार्यको क्षमता अभिबृध्दिमा व्यापक मद्दत गरेको छ। यो महामारी अन्य स्वास्थ्य आपतकालभन्दा नितान्त भिन्न भए पनि आधारभूत व्यवस्थाले हामीलाई स्थापित संयन्त्र माथि थप निर्माण गरी द्रुत गतिमा कार्यान्वयन गर्न मद्दत गरेको छ।

यस महामारीका दौरान स्वास्थ्य सेवाहरू केही हदसम्म प्रभावित भएको भएतापनि नेपालले अत्यावश्यक स्वास्थ्य सेवा र प्राथमिकता प्राप्त जनस्वास्थ्यका कार्यक्रमहरूको निरन्तरता सुनिश्चित गर्न धेरै पहल गरेको छ। हामीले लकडाउनको शुरूवाती चरण देखिनै सबै स्वास्थ्य संस्थाहरूलाई निरन्तर खोलि र सेवा दिने कुराको सुनिश्चितता गरेका थियौ । तथापि, नियमित सूचना प्रणाली र विभिन्न अध्ययनहरूले सेवा प्रभावित भएको देखाउँछ, जसको कारण मुख्यत लकडाउनका बेला आवागमनमा भएको अवरोध नै प्रमुख हुन सक्दछ ।

सभाअध्यक्ष ज्यु,

यसले के स्पष्ट सन्देश समेत दिएको छ भने अत्यावश्यक सेवाहरूको सुनिश्चितता यस्ता महामारीका बेला निकै नै चुनौतीपूर्ण हुन जान्छ र यस चुनौतीको निवारणका लगि टेलिमेडिसन, कल सेन्टर जस्ता वैकल्पिक सेवा प्रवाह गर्ने संयन्त्रहरू स्वास्थ्य प्रणालीको सुधारका अभिन्न अंग बन्नु पर्दछ ।

विभिन्न बाधा तथा व्यवधानका बावजुद पनि नेपालले दादुरा तथा रूवेला खोपको राष्ट्रिय अभियान र १९ वटा जिल्लाहरूमा पोलियो भ्याक्सिन अभियान सफलतापूर्वक संचालन गरेको छ । जसले हरेक तहका सरकारहरू, स्वास्थ्यकर्मीहरू र सरोकारवालाहरूको स्वास्थ्य प्रतिको प्रतिबद्धतालाई स्पष्ट दर्शाएको छ । यस प्रकृयामा प्राप्त उदार सहयोगको लागि डब्लु. एच. ओ., युनिसेफ र गावीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ।

म मेरा सहकारी मन्त्रीज्यूहरू, क्षेत्रीय निर्देशकज्यू, विशिष्ट प्रतिनिधिहरू र सहयोग निकायहरूलाई यस क्षेत्रमा रहेका थुप्रै चुनौती र कोभिड-१९ महामारीको कठिन घडीका बीच पनि विगत समयमा हासिल गरेका उपलब्धीहरूका लागि बधाई दिन चाहन्छु ।

सभाअध्यक्ष ज्यु,

म क्षेत्रीय निर्देशकज्यूको “कायम राख्ने, गति दिने र नव आविष्कार गर्ने” दृष्टिको प्रशंसा गर्न चाहन्छु । जसले संस्थाको ध्यानलाई स्पष्ट मार्ग निर्देश गरेको छ। तपाईको नेतृत्वमा यस क्षेत्रमा स्वास्थ्य प्रणालीहरूको सुदृढिकरण गरी अत्यावश्यक सेवाहरूलाई पुर्नस्थापित गर्नुका साथै यस महामारीलाई समेत नियन्त्रणमा ल्याउनेछ भन्ने कुरामा हामी सबै आशावादी छौं ।

यस क्षेत्रले भ्याक्सीन लगायत जेनेरिक औषधीहरूको विश्वव्यापी आपूर्तिमा विशेष भूमिका खेल्ने भएकाले, हामी यस क्षेत्रका सदस्य राष्ट्रहरू र स्वास्थ्य समुदायहरूले आ-आफ्ना कार्यहरूलाई थप बढावा दिएको हेर्न चाहन्छौ । जसले यस महामारीलाई चाँडै नै नियन्त्रणमा ल्याउन भ्याक्सीन लगायत अन्य प्रविधिगत समाधानहरू पहिल्याउन सकोस् ।

आउनुहोस्, हामी सबै हाम्रो क्षेत्रीय एकतालाई निरन्तर कायम गर्दै यसलाई एक नयाँ उचाईमा पुर्याउ ताकि हामी विश्वलाई यस महामारी विरूध्द लड्न एक अनुकरणीय उदाहरण स्थापित गर्न सकौं ।

यो क्षेत्र आयुर्वेद र अन्य वैकल्पिक चिकित्साका क्षेत्रमा निकै नै धनी भएका कारण हामीले सम्भावित समाधान तथा क्षेत्रहरूको पहिचान गरी यस रोगका विरूद्ध सहकार्य गर्न जरूरी छ। यसका लागि उपयुक्त अनुसन्धान तथा अभिलेखिकरण गर्नु उपयुक्त हुनेछ र जहाँ यस क्षेत्रले महत्वपुर्ण भूमिका खेल्न सक्दछ जस्तो मलाई लाग्दछ ।

क्षेत्रीय उच्च प्राथमिकताहरूका क्षेत्रमा भएको अतुलनीय प्रगतिले उत्साहित बनाएको छ। यस क्षेत्रको जनसंख्या र रोगको प्रकोप हेर्दा क्षयरोग अन्त्य गर्ने लक्ष्यका लागि यस क्षेत्रले थप ध्यान दिनुका साथै यो विषयलाई यस क्षेत्रले एक प्रमुख जनस्वास्थ्य मुद्दाको रूपमा लानु पर्ने देखिन्छ ।

सभाध्यक्षज्यू

क्षेत्रीय निर्देशकज्यूले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदनले यस क्षेत्रका सफलताका साथै चुनौतीहरूलाई समेत राम्रोसँग चित्रण गरेको छ । म, मेरो व्यक्तिगत र नेपालको प्रतिनिधि मण्डलको तर्फबाट क्षेत्रीय कार्यालयलाई यस प्रतिवेदन तयार गर्नका लागि गरेको कडा परिश्रमका लागि धन्यवाद दिन चाहन्छु ।

नेपालको प्रतिनिधि मण्डल यस प्रतिवेदनलाई अनुमोदन गर्दछ र आगामी दिनमा क्षेत्रीय निर्देशकज्यू र उहाँको टीमसँग यस प्रतिवेदनमा उल्लेखित चुनौतीहरूको सम्बोधनको लागि सहकार्य गर्दै जानेछौं ।

धन्यवाद, नमस्कार
२०७७ साल भाद्र २५ गते बिहिबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here