February 24, 2024
पालिका विशेष

शहिद लखनमा लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रम गरी समापन

गोरखा, शनिबार, २३ मङ्सिर २०८० । गोरखाको शहिद लखन गाउँपलिकामा लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । अभियान अन्तरगत गाउँपालिकाको आयोजनामा पालिका भित्रका बिभिन्न वडाहरुमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो ।

मङ्सिर ९ गतेदेखि सुरु भएको अभियानमा गाउँपालिकाले लैङ्गिक हिँसा रोकथाम तथा न्युनीकरण लागि विभिन्न वडाहरुमा पुगेर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको उहाँले बताउनुभयो । गाउँपालिकाको ताक्लुङबाट थालिएको अभियान वडा नम्बर ८ को मैलुङमा शुक्रबार एक कार्यक्रम बिच सम्पन्न गरिएको उपाध्यक्ष तिवारीको भनाई छ । त्यस्तै वडा नम्बर २ मनकामना, वडा नम्बर १ बक्राङमा समेत अभियान अन्र्तगत गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको थियो ।

शुक्रबार वडा नम्बर ८ को कार्यालयमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाकी उपप्रमुख लिला परियारको प्रमुख आतिथ्यतमा रहेको थियो भने गाउँपालिकाका अध्यक्ष रमेश थापामगरको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा पोखरीडाँडा भजन महिला समुहले महिला हिंसा सम्बन्धी नाटक समेत प्रस्तुत गरेका थिए ।

सचेतना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रमुख परियारले समुदायमा बिद्यमान हिंसा, कुरीति, कुसंस्कारको अन्त्य गर्न अभियान र दिवसले मात्रै नपुग्ने सरोकारवालाहरुले बताउनुभयो । उहाँले लैङ्गिक हिँसामा महिलाहरु धेरै हिँसामा पर्ने गरेको भन्दै स्थानीय सरकारले लैङ्गिक हिँसा सम्बन्धि कार्ययोजना निर्माण गरी समुदायमा पुगेर नियमित रुपमा जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने जोडदिनुभयो ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले महिलाहरुले क्षमता विकास र सशत्तिकरणमा गाउँपालिको जोड दिदै आएको बताउनुभयो । उहाँले महिलाहरुको आर्थिक आयआर्जन बृद्धि गर्न सके समाजमा महिला माथि हुने हिँसाका घटनामा न्युनीकरण गर्न सकिने भन्दै गाउँपालिकाले महिलाहरुको आर्थिक आयआर्जन बृद्धिका लागि कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष तिवारीले गाउँपालिकाले सञ्चालन गरेको यो अभियान निकै राम्रो ढंगबाट सफल भएको बताउनुभयो । उहाँले समाजको सकारात्मक रुपान्तरणको लागि स्थानीय सरकार लागि परेको भन्दै एकै चोटी ठुलो परिवर्तन नहुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष बासु ढकाल, वडा नम्बर ९ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बाबुराम मगर लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा कार्यापालिका सदस्य विमला ढुङगाना अम्गाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यहि मङ्सिर ९ गतेबाट देशभर शुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको थियो । जस अन्तर्गत सहिद लखन गाउँपालिकाले अभियान सम्पन्न गरेको छ । अभियान अन्तरगत पालिकाले सञ्चालन गरेको फरक फरक कार्यक्रमबाट प्रत्यक्ष रुपमा करिब ४ सय ५० जनाभन्दा बढीको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *