Friday, February 26, 2021
More

    श्रीनाथ-मण्डली : आस्था र विश्वासको प्रतिक ।

    गोरखा, धनबहादुर गुरुङ \ राजु मियाँ , २०७४ साल मङसिर २ गते शनिबार ।

    श्रीनाथ र मण्डली दुई छुट्टा छुट्टै देवता हुन् । श्रीनाथ र मण्डलीको मन्दिर एउटै घेराभित्र रहेता पनि छुट्टाछुट्टै ठाउँमा पूजा गर्ने  गरिन्छ । यहाँ मूर्ति छैन, प्राकृतिक शिलालाई श्रीनाथ र मण्डलीको अलग अलग प्रतिक मानी पूजा गरिन्छ । यो स्थान चतुष्कोणाकार स्वरुपमा रहेको  छ । ढुङ्गा माटोको पर्खाल लगाई छानाविहीन रुपमा श्रीनाथ-मण्डली बनेको छ ।

    श्रीनाथ-मण्डली ११.७० मीटर लम्बाई, ८.२० मिटर चौडाई र २.३० मीटर उचाईमा बनेको छ । हाल मण्डलीको पूर्वतर्फ श्रृङ्गी ऋषिको नयाँ मूर्ति स्थापना गरिएको छ । श्रीनाथ-मण्डलीमा हुने नित्य-पूजाको व्यवस्था थालाजुङ्ग, श्रीनाथकोट र अन्य साबिक गाविसका मानिसहरु मिली गर्दै आएका छन् ।

    पूर्व तर्फ पूरानो घण्टा यधपी  देख्न सकिन्छ । झ्याल ढोका सादा छन्  स्थान वरिपरि भक्तजन  बस्ने पाटीहरु बनाइएको छ । पूर्वतर्फ श्रृङ्गी ऋषिको नयाँ मूर्ति स्थापना गरिएको छ । देवताको पूजा गर्न पिता पुर्खाको पालादेखिनै पूजारी चुनेर पुजाको राम्रो व्यवस्था मिलाउँदै आइरहेका छन् । यी देवतालाई सिरानचोकवासीहरुले सत्को देवता मानी आध्यात्मिक आस्थाको धरोहरको रुपमा श्रीनाथ-मण्डलीलाई मान्दै आइरहेका छन् ।

     सिरानचोकको शिरमा घना जंगलको बीचमा अवस्थित श्रीनाथ-मण्डली मन्दिरले यस क्षेत्रलाई  धार्मिक स्थलको रुपमा परिचय दिएको छ । श्रीनाथ-मण्डलीको स्थापना कसरी भयो भन्ने विषयमा ऐतिहासिक तथ्य र घटना रहेको छ : उहिले द्रव्य शाहले सिरानचोकको राज्य सञ्चालन गर्ने क्रममा औषधी उपचार गर्ने भनि एकजना जोगीको व्यवस्था गरेका थिए । जुन जोगीलाई नाथ भन्ने गरिन्थ्यो । त्यसबेला आधुनिक उपचार पद्दति र अस्पताल नभएका कारणले गर्दा पनि आफ्नो निजी वैद्यको रुपमा जोगीलाई राखेको तथ्य प्रष्ट रहेको छ । द्रव्य शाहको श्रीमती (रानी) लाई हेरचाह गर्न एकजना क्होला-गुरुङ महिलालाई सुसारेको रुपमा नियुक्त गरिएको थियो । पछि जोगी (नाथ) र सुसारे महिलाको मृत्यु भयो । बाइसे-चौविसे शासनकालमा जब कोट–कोट बीचमा लडाई सुरु भयो ।

     तत्कालिन राजा द्रब्य शाह सिरानचोकबाट राज्य विस्तारको क्रममा गोर्खा (हाल गोर्खा दरबार रहेको ठाउँ) तिर लागे त्यसपछि राजाको सेवक जोगीनाथ र सेविका महिलाको मृत्तात्मालाई पुजा गर्ने कोही भएनन् । उनीहरुको आत्माले सिरानचोकवासीलाई दुःख दिन थाल्यो । दुःख, पीडाले आर्जित बनेका सिरानचोकवासीले अन्ततः उनीहरुको मृत्तात्मा (प्रेत्तात्मा) ले शान्ति पाओस् भनी थान (मण्डप) बनाएर सामूहिक रुपमा पुजा गर्न थालियो । कालान्तारमा त्यहि मन्दिर नै श्रीनाथ-मण्डलीको रुपमा परिचित हुन पुग्यो । अतः श्रीनाथ मण्डलीको स्थापना यसरी भएको हो भन्ने तथ्य ऐतिहासिक घटनाद्धारा नै प्रमाणित भएको छ ।

    श्रीनाथ मण्डलीको काखमा शिव, पार्वती, गणेश, ऋगी, ऋषि र नागको स्थापना गरिएको छ । मन्दिरको कम्पाउण्ड (घेरा) लगाउन सुरुवात गर्ने समाजसेवी चाहिँ क्होला आरुबोट निवासी स्व. मनि गुरुङ हुन् । पुजारी नियुक्त सिरानचोक कोट विकास समितिले गर्दछ । हाल श्रीनाथ मण्डलीको मन्दिरमा   बीर सिह गुरुङ र टेक बहादुर गुरुङ पुजारीको रुपमा बसेका छन् ।

    श्रीनाथ–मण्डलीमा पुजा गर्ने श्रदालु भक्तजनहरु टाढा-टाढा बाट आउने गर्दछन् । यहाँ पुजा गर्ने विधि अन्तर्गत श्रीनाथलाई रोटी चढाइन्छ, शिव पार्वतीलाई धुप, फूल-अक्षता, गणेशलाइ-धुप, ऋगी, ऋषीलाई नैवेद्य (रोटी)  र मण्डलीलाई बली चढाइन्छ ।

    एकादशी र औंसीबाहेक मण्डलीमा राँगा, बोका, परेवा, कुखुरा र हाँसको वली दिने गरिन्छ । सिरानचोकवासीले वर्षभरिमा आफूले उत्पादन गरेका धान, कोदो र मकै श्रीनाथ-मडण्लीलाई खाधान्न नचढाए (अर्पण नगरे) सम्म खाँदैनन । प्रत्येक वर्षको मङसिरको सुरुमा दिन हेरेर न्वागी चढाउने भनि स्थानीयावासी श्रीनाथ-मण्डलीको मन्दिरमा पन्चै बाजागाजा  सहित फुलमालाको डोली बोकेर रमाइलो गर्दै आफ्नो खेतीबाट उत्पादन भएको अन्नको केही अंश श्रीनाथ-मण्डलीलाई चढाउने गर्दछन् ।

    सिरानचोकवासीले उक्त स्थानमा भेटघाट र रमाइलो गरी न्वागी मेला धुमधामका साथ मनाउँछन् । अहिले सिरानचोकवासी मन्दिरको संरक्षण, सम्बर्धन र विकासमा लागेका छन् ।

     श्रीनाथ-मण्डलीको पूजा गरेमा मनोकामना पुरा हुने, दुःख, संकटबाट मुक्त हुने, प्राकृतिक प्रकोपबाट हानि नहुने, स्वास्थ्यलाभ हुने, बिग्रेको काम सफल हुने जन–विश्वास रहिआएको छ ।

    श्रीनाथ-मण्डली ऐतिहासिक र सांस्कृतिक महत्वले मात्र नभई पर्यटकीय दृष्टिकोणले उत्तिकै महत्वपूर्ण मानिन्छ । प्राकृतिक मनोरमता, ऐतिहासिक गढी-दरबार, जैविक विविधता र स्थानीय मौलिक सांस्कृतिक पक्ष  र संस्कृतिले धनी भएकाले  पर्यटकहरुका निम्ति आकर्षणको केन्द्रविन्दु बन्नसक्छ : सिरानचोकमा अवस्थित रहेको श्रीनाथ–मण्डलीको मन्दिर ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here