काठमाडौँ, मंगलबार, ३० बैशाख २०७७ । नेपालमा आज (मंगलबार) एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर संक्रमितको संख्या १ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित भएकामध्ये सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको संख्या हो । यसअघि हिजो (सोमबार) एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुको सङ्क्रमण भएको बताउनु भयो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट आज रुपन्देहीमा नौ जना, पर्सामा ३९ जना , कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो ।

सह- प्रवक्ता डा अधिकारीका अनुसार सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते सङ्क्रमण देखिएको थियो । संक्रमितमध्ये ३३ जना उपचारपछि घर फर्किसकेका छन् । तर, ति मध्ये ३ जनामा पुन: संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।

सह-प्रवक्ता डा अधिकारीले भारतबाट आउने क्रम बढेसँगै शङ्कास्पद व्यक्तिलाई परीक्षण गर्दा यति धेरैको सङ्ख्यामा सङ्क्रमित पहिलोपटक सङ्क्रमित भेटिएको बताउनु भयो । ‘‘पहिलाभन्दा अहिले भारतबाट मानिस पनि आवतजावत गरिरहेका छन्”, उहाले भन्नुभयो ‘‘क्वारेन्टाइनमा बसेकालाई पनि हामीले बढी परीक्षण गरिरहेको हुनाले सङ्क्रमति फेला परेका छन् ।” उहाले धमाधम सङ्क्रमित भेटिरहेकाले निगरानी बढाउन आवश्यक रहेको बताउनु भयो ।

मन्त्रालयले अहिले दैनिक एक हजारमा पिसिआर र करिब दुई हजारमा आरडिटी परीक्षण गरिरहेको छ । मुलुकभर पिसिआर १९ ठाउँमा र आरडिटी ७७ जिल्लामा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here