काठमाडौँ, ७ बैशाख २०७७ । नेपाली समाजमा कायम रहेको सद्भावमाथि खलल पुर्‍याउने काम नगर्न राष्ट्रिय मुस्लिम आयोगले आग्रह गरेको छ । मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले स्पष्ट समेत पारेको छ ।

आज आइतबार मुस्लिम आयोगको कार्यालयमा भएको सर्वपक्षीय छलफलले कुनै पनि मस्जिद र मदरसामा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको हो ।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले नेपालको सद्भावमाथि खलल पुर्‍याउने तत्वहरुले सामाजिक सञ्जालमा जमातीहरु लुकेर बसेको आरोप लगाएको बताउनु भयो । यसअघि नै कुन ठाउँमा कति जमाती छन् भन्ने कुराको जानकारी गृह मन्त्रालय र प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुमा दिइएको उहाले बताउनु भयो ।

आयोगको सर्वपक्षीय छलफलले मस्जिद र मदरसा रहेका जिल्लामा अनुगमन गर्न प्रतिनिधिमण्डल बनाउने निर्णय पनि गरेको छ । प्रतिनिधिमण्डलले मदरसा र मस्जिद रहेका जिल्लामा हुने अनुगमनमा प्रहरी र जिल्ला प्रशासन कार्यालयहरुलाई सहयोग गर्ने उहाले बताउनु भयो ।

मुलुक कोभिड—१९ संक्रमणको जोखिमसँग लडिरहेका बेला विभिन्न इस्यु बनाएर जातीय द्वन्द फैलाउने काम भएकोप्रति आयोगले आपत्ति समेत व्यक्त गरेको छ ।

उदयपुर र पर्साको मस्जिदमा रहेका जमातीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सो समुदायप्रति सामाजिक सञ्जालमा अनावश्यक आराेप लाग्ने गरेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here