चितवन, शुक्रबार, २३ जेठ २०७७ । स्थानीय निकायबाट राहतको आश मारेका अल्पसंख्यक १५ जना तेस्रोलिङ्गीलाई न्युजिल्याण्डबाट सहयोग उपलब्ध भएको छ । चितवनको नारयणगढ स्थित पोखरा बसपार्कमा रहेका तेस्रोलिङ्गीहरुलाई न्युजिल्याण्ड बस्दै आउनुभएका टिकाराम न्यौपानेबाट सहयोग उपलब्ध भएको हो । आफ्नो छोरी अनुपा न्यौपानेको जन्म दिनको अवसरमा टिकाराम न्यौपानेले समाज सेवी अजुर्न भुषाल मार्फत उनीहरुलाई सहयोग प्रदान गर्नुभएको थियो ।

गत जेठ १९ गते कालिका एफएममा तेस्रोलिङ्गी शुष्मा केसीले लकडाउनमा खाद्यन्नको समस्या भएको वडाले दोस्रो र तेस्रो चरणको राहत वितरण गर्दा पनि आफुहरुले राहत नपाएको गुनासो गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, “लामो समय देखि लकडाउन चलिरहेको छ । कामहरु ठप्प छन, जम्मा भएको रकम र खाद्यन्न सकिएको छ । वडामा कुरा राखेको धेरै समय भैसक्यो सुनवाई भएको छैन ।”

केसीले लकडाउनसंगै खाद्यन्नको समस्या भएपछि भरतपुर महानगरपालिका वडा नं. १ मा राहतको लागी माग गरेको बताउनु भएको थियो । तर, वडामा राहत माग गरे टोलमा जान भन्ने र टोलमा गए वडामा जान भनेपछि कहाँ गएर राहत माग गर्ने हो भन्नेमा दोधार भएपछि केसीले कालिका मिडियामा समस्या राख्नुभएको थियो । यो संगै राहत पाएपछि भने केसी संगै १५ जनाले सहयोग दातालाई धन्यवाद दिनुभएको छ । उनीहरलाई चामल, स्वयावीन, दाल गरि एक महिनाको रासन सहयोग गरिएको समाज सेवी भुषालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here