बझाङ्ग, आइतबार, ७ असार २०७७ । क्रूर शासक हिटलरले आफ्नो संस्मरणात्मक एक बयानमा भनेका थिए, ‘जङ्गलको राजा बाघको अगाडि जो पर्छ, त्यो मर्छ, जो पर्दैन, त्यो मर्दैन । त्यसैले राजा जहिले पनि क्रूर हुनुपर्छ । शासनसँग शक्ति हुन्छ, शक्ति बदमास हुन्छ । त्यसैले सबैलाई न्याय हुँदैन ।’

आफ्नो शासनकालमा निकै क्रूर र दमनको नीति लिएर रजाइँ गरेका हिटलरको यो अनुभव सबै शासकको कार्यशैलीसँग नमिल्न पनि सक्छ तर यथार्थमा शासकसँग शक्ति हुन्छ, शक्तिको उन्मादले जे सही ठान्यो, त्यही बाटो डो¥याउँछ र कालान्तरमा त्यो बाटो सही नभएर कैयौँ शासकले सत्ता त्याग्नुपरेको, क्रूर शासकविरुद्ध नागरिकले विद्रोह गरेर सत्याच्युत हुनुपरेका घटना विश्वमा निकै छन् ।

इतिहासका विभिन्न कालखण्ड केलाउने हो भने शासक क्रूर छन् । शासक सेवक पनि छन् । यस्ता घटना धेरै पाउन सक्छौँ । नेपालको इतिहास पल्टाउँदा राजा मानदेव, अंशुवर्मा, न्याय नपाए गोर्खा जानु भन्ने भनाइ स्थापित गरेका राजा राम शाह आदि राजाको इतिहास हेर्दा शासकले सेवकका रूपमा पनि काम गरेको भेटिन्छ ।

सन्दर्भ बाइसे चौबिसे राज्यकालका राजाहरूको हो । बाइसे चौबिसे राज्यमा पश्चिम नेपालको शक्तिशाली राज्यका रूपमा बझाङ उदय भएको थियो । ठकुरी वंश सिंहको बझाङमा राजकाज सञ्चालनका क्रममा ५५औँ राजाका रूपमा जयपृथ्वीबहादुर सिंहले राजगद्दी सम्हालेका थिए । श्री ३ जङ्गबहादुर राणाका भाञ्जा जयपृथ्वीको १७ वर्षको उमेरमा श्री ३ चन्द्रशम्शेरकी छोरी खगेश्वरीसँग लगनगाँठो बाँधिएको थियो । उनको शिक्षादीक्षा तत्कालीन नेपाल (हालको काठमाडौँलाई त्यतिबेला बाइसी चौबिसी राज्यका नागरिकले नेपाल भन्ने चलन थियो) को दरबार हाइस्कुलबाट भयो । पश्चिम नेपालको शक्तिशाली राज्य बझाङका राजासँग सम्बन्ध राणा परिवारले त्यत्तिकै राखेका थिएनन् । वंशका हिसाबले कुलीन ठकुरी र शक्तिका दृष्टिले तिब्बती नाकासँग जोडिएको पश्चिम नेपालको राज्य भएकाले राणा परिवारले आफ्नो सम्बन्ध बझाङी राजासँग गाँसेको थियो ।

बझाङी राज्यका ५४औँ राजा विक्रमबहादुर र आमा रुद्रकुमारीका छोराका रूपमा १९३४ सालमा जन्मिएका जयपृथ्वीबहादुर सिंहले छोटो अवधि राजकाज चलाए तर उनको शासनकाल समाज परिवर्तनका लागि निकै उपलब्धिपूर्ण रह्यो ।

शिक्षादीक्षाका लागि मामाघर काठमाडौँमा बस्दै आएका राजा जयपृथ्वी बझाङी राज्यको राजकाज चलाउन जब बझाङ पुगे अनि त्यो बेलाको बझाङ राज्यभित्रका समाजको वस्तुस्थिति, शिक्षा, स्वास्थ्य, संस्कारलाई हेरेर निकै खिन्न भएको उनको लेखरचनामा पाइन्छ । काठमाडौँबाट इस्ट इन्डिया कम्पनीको अनुमति लिएर भारतको बाटो हुँदै बझाङ पुगेका राजा जयपृथ्वीले जब त्यहाँको समाजको वस्तुस्थितिसँग साक्षात्कार गरे तब एक किसिमका विद्रोहको भावना उनमा पलायो । एउटा सानो राज्यलाई चरम गरिबी, अशिक्षा अनि पछौटेपनले यति गाँजेको थियो कि त्यो देखेर उनलाई यसको अन्त्य गर्ने हुटहुटी जाग्यो । काठमाडौँको परिवेशमा हुर्केका राजा जयपृथ्वीभित्र यस्तो भावनाको विकास हुनु स्वाभाविकै थियो ।

राज्यका दुई पाटा राजा अनि रैती हुन् । राज्य बलियो हुनका लागि राजामात्र बलियो भएर हुँदैन, रैती पनि सामाजिक, आर्थिक तथा सांस्कृतिक हिसाबले बलियो र सुदृढ हुनुपर्ने कुरालाई उनले जोड दिन थाले । तत्कालीन अवस्थामा शिक्षा आर्जन गर्ने कुरा राणा परिवारलाई मात्र सहज थियो । काठमाडौँ बाहिर शिक्षाको ज्योति फैलाउने चाहना जहानियाँ राणाशासनमा कत्ति पनि सहज थिएन तर राजा जयपृथ्वीबहादुरले आँट गरे । राणा परिवारको चाहनाविपरीत दरबार हाइस्कुलका एक जना शिक्षकलाई लगेर उनले बझाङमा पाठशालाको स्थापना गरेरै छाडे । श्री ३ जङ्गबहादुरका भाञ्जा र चन्द्रशम्शेरका ज्वाइँ भएकै कारण तत्कालीन अवस्थामा उनले चालेको कदमले सफलता पायो । नभए राणाका अगाडि कसको के चल्थ्यो र ?

दरबार हाइस्कुलबाट शिक्षक लगेर बझाङमा सत्यवादी प्राइमरी पाठशाला खोल्नुको अर्थ सबैलाई शिक्षा भन्ने नै थियो । पढ्नुपर्छ भन्ने ज्ञान नभएसम्म विद्यालय खोलेर मात्र हुँदोरहेनछ भन्दै राजा जयपृथ्वीले आफैँले खोलेको सत्यवादी प्राइमरी पाठशालामा घरको एक छोरा पढाउने वाचाका लागि अभिभावक अभियान चलाउँदै घोडामा सवार भएर गाउँ गाउँ डुले । विद्यालयमा पढाउन नमान्ने अभिभावकलाई राजाले कारबाही गरेको पनि बुढापाकाबाट सुन्न पाइन्छ ।

पैसा तिरेर पढ्न सक्ने क्षमता नभएका विद्यार्थीलाई निःशुल्क शिक्षामात्र नभई खान, बस्नका लागि छात्रावासको सुरुवात पनि गरे । गाउँ÷गाउँबाट माना÷पाथीका हिसाबले गहुँ, चामल सङ्कलन गरेर सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पढ्न आउने विद्यार्थीका लागि निःशुल्क खानपिनका लागि जोहो गरे । जसले गर्दा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आउने विद्यार्थीले निःशुल्क शिक्षाका साथमा गाँस र बासको सुविधा पनि पाएका थिए ।
सुदूरपश्चिममा अहिलेसम्म पनि जातीय छुवाछूतको अवस्था जर्जर नै देखिन्छ तर राजा जयपृथ्वीले वि.सं. १९६० को दशकमा नै बझाङमा जातीय छुवाछूतरहित समाज निर्माणका लागि गाउँमा एक धारो, एक पँधेरो, छात्रावासमा एक कोठामा चारजना विद्यार्थी बस्न, खान सक्ने व्यवस्थाको सुरुवात गरे । गुरुकुल शिक्षाको युगमा उनले बझाङी जनतालाई सबैका लागि शिक्षा भन्ने सन्देश प्रवाह गर्दै के बाहुन, के दलित सबैका लागि शिक्षाको ढोका खोले र तीन कक्षासम्मको सत्यवादी पाठशालालाई पाँच कक्षासम्मको बनाए ।

सत्यवादी पाठशालामा अध्ययन गर्ने विद्यार्थीका लागि उनले व्याकरणसमेत रचना गरे । ‘अक्षराङ्क’ नामको व्याकरण पुस्तक नेपाली भाषाको पहिलो व्याकरण कृति हो । उनको अर्काे रचना ‘बालबोध’ पनि पहिलोपटक यही सत्यवादी पाठशालाका विद्यार्थीलाई पढाइएको थियो । यही विद्यालयमा पढाउनका लागि भनेर नै उनका दर्जनभन्दा बढी नेपाली भाषाका कृति प्रकाशित भए ।

विद्यार्थीलाई पढाउनका लागि कापीको व्यवस्था थिएन । तत्कालीन अवस्थामा ढुङ्गाको पाटी बनाउन ढुङ्गा (स्लेट) खानी र लेख्नका लागि खरिढुङ्गा खानी पनि राजा जयपृथ्वीले उत्खनन गर्न लगाए । जुन खानी अहिले पनि छिटपुट रूपमा सञ्चालन भइरहेका छन् ।

सरकारी कामकाजका लागि र विद्यालयको पठनपाठनलाई सहज बनाउन उनकै पहलमा लोक्ताको कागज बनाउने काम पनि सुरु भयो । जसले गर्दा विद्यार्थीले स्थानीयस्तरमा लोक्ताको कागजमा लेखपढ गर्न सक्ने भए र मसी निर्माणका लागि कटुसको पातलाई पकाएर मसी बनाउने प्रविधिको विकास पनि स्थानीयस्तरमा सुरु भयो । निगालोको कलम बनाउनका लागि गाउँका केही व्यक्तिलाई जिम्मेवारी दिइएको थियो ।

शिक्षाक्षेत्रको दिगो विकासका लागि भारतबाट ल्याइएका रामदत्ती अवस्थी, जगतसिंह कन्याल दुई शिक्षकलाई राजा जयपृथ्वीले बझाङको नागरिकता प्रदान गरी घरबासको व्यवस्थासमेत मिलाए ।

बझाङ राज्यले आफ्नो फलाम, अभ्रख तथा तामा उनकै पालामा सञ्चालनमा ल्यायो । जसले स्थानीय तहमा रोजगारीको सिर्जनामात्र गरेन, बझाङ राज्य कृषि औजार तथा घरायसी औजारका लागि आत्मनिर्भर हुन सकेको थियो । उनले सञ्चालन गरेका खानी २०१७ सालसम्म पनि सञ्चालनमा थिए । त्यसपछि भने छिटपुटबाहेक सञ्चालनमा आउन सकेका छैनन् ।

बझाङी राजाले आफ्नै फलाम, तामा र चाँदीको पैसा सञ्चालनमा ल्याएका थिए । जुन पैसामा बझाङी राजाको छाप हुने गथ्र्याे । भारतसँग कारोबार हुँदा भारुमा हुने भए पनि बझाङभित्र अधिकांश नागरिकले फलाम, तामा र चाँदीका पैसा चलाउने गरेका थिए । २००७ सालपछि नेपाली नोट सञ्चालनमा आएपछि फलाम, तामा तथा चाँदीका पैसा बिस्तारै हराउन थाले तर बझाङ राज्य उन्मूलन हुनु अघिसम्म (२०१७ सालसम्म) आफ्नै राज्यका यी पैसाबाट तिरो तिर्ने र बुझ्ने गरिएको थियो ।

उत्तरी नाका भोटबाट ऊन र नुन आउनका लागि उनले ठाउँठाउँमा सुरुङ खनेर भोटसम्मको पैदल बाटो निर्माण गर्न लगाए । भारतबाट लत्ताकपडा, गुड (चिनी) तथा अन्य सामानका लागि बझाङबाट भारतको पिथौरागढ, झुलाघाट, बनबासा, ब्रह्मदेवसम्मका पैदल हिँड्ने बाटो निर्माणमा राजाले आफैँ कुटो, कोदालो समातेको भन्ने इतिहास पनि छ । उनको शासनकालमा बझाङबाट बैतडीपारिको झुलाघाट र डडेलधुरा हुँदै कञ्चनपुरको ब्रह्मदेव, बनबासासम्मको पैदल बाटो काट्ने काम सम्पन्न भएको थियो ।

काम गर्नुअघि जनताका लागि दुईपटक सोच भन्ने उपयोगी र व्यवहारवादी सिद्धान्तका अनुयायी राजा जयपृथ्वीले आफू राजा भएर बझाङमा क्रान्तिकारी भूमिसुधारको सुरुवात गर्नुभयो । हलो जोतेर गुजारा गर्ने भूमिहीनलाई जग्गा वितरण गर्दा आफ्नै भाइभारदारको विरोधको सामना उनले गर्नुप¥यो तर समाजसुधारक राजा जयपृथ्वीले आफ्नै वंशका नाउँमा रहेका उब्जाउभूमि पनि भूमिहीन नागरिकलाई बिर्ताका रूपमा बाँडेका थिए । गरिब बाहुनलाई बाहुनकर्म गर्दा हुने खाने यजमानले भूमिदान गर्ने र अरू जातिले जात अनुसारको काम गर्दा माटो लिन दिने व्यवस्थाको जग बसाली समाजमा सबै समान होउन् भन्ने अवधारणाको सुरुवात गरे ।

तत्कालीन अवस्थामा स्वास्थ्यको अवस्था निकै कमजोर रहेको बझाङमा स्थानीय जडीबुटीको ज्ञान भएका ‘वैद्य’ लाई ठाउँठाउँमा मानपदवी दिई आयुर्वेदिक औषधिको उत्पादन पनि सुरु गर्न लगाए । जडीबुटीको पहिचान गर्न सक्ने र बालबालिका, वृद्धवृद्धालाई औषधिमूलो गर्ने व्यक्तिलाई गाउँघरमा ‘वैद्य’ को पदवी दिने कामको सुरुवात गरी जडीबुटी खेती लगाउने काम पनि त्यतिबेला नै सुरु भएको पाइन्छ । औषधिमूलो गरे वापतको वैद्यलाई गाई, भैँसी, पाठो, बाख्रो दिने चलनको विकास पनि गर्न लगाए ।

गोरखापत्रको प्रकाशनका लागि प्रमुख व्यवस्थापकको भूमिका खेल्नुभएका राजा जयपृथ्वीले राजगद्दीमा बसेर एउटा सानो भूगोल बझाङमा यति सुधारका काम गरेको देख्दा तत्कालीन अवस्थामा मामा तथा सुसुराली राणा परिवारलाई सह्य भएन । बिस्तारै दूरी बढ्न थालेपछि राजा जयपृथ्वीले राजगद्दी त्यागेर भारतको बङ्गलोर विस्थापित हुनुप¥यो । युरोप, अफ्रिकामा मानवतावादी सन्देश प्रवाह गर्ने क्रममा उहाँको भारतमा पनि चर्चा हुन थालेपछि इस्ट इन्डिया कम्पनीले उनलाई बङ्गलोरमा नजरबन्दमा राख्यो तर पनि उनले आफ्नो सुधारको काम ‘ब्रेक’ गरेनन् । उनले पुनः बझाङ फर्किने कोसिस गर्दा पनि राणाको आग्रहमा भारतमा रहेको इस्ट इन्डिया कम्पनीले स्वदेश फर्किन दिएन ।

आफ्नै जन्मभूमिमा मर्ने चाहना राखेका राजा जयपृथ्वीले नेपाल छिर्न नसकेपछि देहत्याग पनि बङ्गलोरमै गरे । उनका पुर्खाले गद्दी सम्हालेको बझाङ राज्य २०१९ सालसम्म अस्तित्वमै थियो । जब राजा महेन्द्रको पालामा तत्कालीन शाही नेपाली सेनाको टोलीले उनका छोरा ओमजङबहादुर सिंहलाई घेरा हाली समात्न खोज्दा भिडन्त भयो ।

तत्कालीन बझाङी राजाको सेनाले आत्मसमर्पण नगरेपछि राजा ओमजङ्ग आफ्ना सेनासहित दार्चुलाको मार्मा पुगे । २०१९ साल असोज २१ गते मार्मामा शाही नेपाली सेनाले घेरा हाल्दा दोहोरो भिडन्तमा राजा ओमजङ्ग सिंहसहित केही सेनाको मृत्यु भयो । अनि बझाङ राज्य नेपालमा समाहित भयो । २०६२÷२०६३ सालसम्म बझाङी राजाका उत्तराधिकारीलाई सरकारले भत्ता दिँदै आएको थियो । गोरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here