काठमाडौं, आइतबार, १४ भाद्र २०७७ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड-१९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाँउमा गैर पत्रकारले प्रेस पासको दुरुप्रयोग गरेको पाइएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गरेको छ ।

जनतालाई सू-सुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुप्रयोग गर्नु गम्भीर आपत्तिको विषय भएको भन्दै महासंघले चेकजाँचलाई कडाइ पार्न प्रहरीलाई आग्रह गरेको छ ।

महासंघ पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गर्दै, ‘आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गर्दछ ।’ भनिएको छ ।

प्रेस पासको दुरुपयोग रोक्न महासंघले नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरुलाई आग्रह समेत गरेको छ । ‘प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महासंघ महानगरिय ट्राफिक प्रहरी कार्यालय सहितका सम्बन्धित निकायलाई आग्रह गरेको छ’, ‘ कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारवाही गर्न महासंघ सम्बन्धित निकाय समक्ष हार्दिक आग्रह गर्दछ ’महासंघको विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here