May 18, 2024
खेलकुद

सहाना प्रधान स्मृति प्रतिष्ठानको आयोजनमा युथ भलिबल

काठमाडौँ, बिहिबार, २७ वैशाख २०८१ । सहाना प्रधान प्रतिष्ठानको आयोजनामा प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता ९ देखि १५ असारसम्म हुने जानकारी दिएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेलाइनेछ ।

प्रतियोगितामा ७ वटै प्रदेशका महिला र पुरुष टिम सहभागिता रहनेछ । प्रतियोगिताको विजेता महिला र पुरुष दुवै टिमले ३ तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् । तेस्रो हुनेले १ लाख पाउनेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्टले ५–५ हजार पाउनेछन् ।

प्रतियोगिताका लागि करिब ८० लाख बजेट लाग्ने र सम्पूर्ण बजेट प्रतिष्ठानले बेहोर्ने बताइएको छ । प्रतियोगिता आयोजनाका लागि सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्री र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रतियोगिताको व्यवस्थापन र प्राविधिक सहयोग नेपाल भलिबल संघले गर्नेछ । टिम सहभागिता, भेन्यु व्यवस्थापन र प्राविधिक कामको व्यवस्थापन संघले हेर्नेछ भने आयोजना तथा आर्थिक पक्ष सहाना प्रधान प्रतिष्ठानले हेर्ने संघका अध्यक्ष चन्दले जानकारी दिनुभयो । चन्दले भलिबलको विकास ग्रासरुटबाटै हुने भन्दै यस प्रतियोगिताले नयाँ खेलाडी आउनका लागि माध्यम बन्ने बताउनु भयो । ‘भलिबल संघले ग्रासरुट कहिलेदेखि गर्छ भन्ने प्रश्न आइरहेको थियो । हामी आफैँले वा ज्वाइन्ट भेन्चरमा गर्ने तयारी थियो । तर अहिले सहान प्रधान प्रतिष्ठानसँग सहकार्यको अवसर जुरेको छ । यसले उमेर समूहका खेलाडीका लागि सहयोग पुग्नेछ’, चन्दले भन्नुभयो ।

प्रतियोगिताबाट यू–१९ राष्ट्रिय टिमको छनोट गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने भलिबल संघले जनाएको छ । प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीले संघसँग मिलेर प्रतियोगिता गर्दा सफल हुने विश्वास व्यक्त गर्दै यस प्रतियोगिताबाट युवा खेलाडीहरूलाई प्रतिभा देखाउने अवसर हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *