काठमाडौँ, मंगलबार, ९ बैशाख २०७७ । नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीमा सामुदायिक रेडियोले खेलेको भूमिकाको उच्च प्रश‌ंसा गर्दै सरकारले थप सहकार्यको प्रतिबद्धता जनाएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आज नेपाल सरकार समक्ष पेश गरेको ध्यानाकर्षण पत्र बुझ्दै सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले कोभिड १९ को सङ्क्रमणबाट जोगिन सचेतना फैलाउन सामुदायिक रेडियोहरूले गरेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

मन्त्रालयमा आज सामुायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले बुझाउनु भएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खतिवडाले यस्तो बताउनुभएको हो ।

सरकारले गरेका कार्यहरू जनतामाझ लैजान र जनताका सवालहरूलाई सरकारसम्म ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङ्घसँग सहकार्य गर्ने पनि मन्त्री खतिवडाले उल्लेख गर्नुभयो ।

सामाजिक रूपान्तरणका लागि भूमिका खेल्दै आएका सामुदायिक रेडियोहरूले यो विपद्को समयमा पनि भरपर्दो र विश्वसनीय सञ्चारमाध्यमको रूपमा कार्य गर्न सफल भएको भन्दै, थप भूमिका निर्वाह गर्नको लागि पनि उहाँले अनुरोध गर्नुभयो ।

कोरोना भाइरस महामारीबाट जोगिन अपनाउनु पर्ने सावधानीका बारेमा स्थानीय भाषा र लवजमा सूचना तथा जानकारीहरू निरन्तर बाँड्नुपर्नेमा उहाँको जोड थियो ।

सङ्घका अध्यक्ष खतिवडाले सूचना प्रवाहमा सक्रिय र प्रभावकारी सामुदायिक रेडियोहरुको दैनिक सञ्चालन प्रक्रिया र आर्थिक व्यवस्थापन अहिलेको परिस्थीतिका कारण कठिन बन्न पुगेकोले सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

सहकार्य गर्ने मन्त्री खतिवडाले गर्नु भएको प्रतिबद्धताले समग्र सामुदायिक रेडियोको अभियानलाई उत्साहित र थप जिम्मेवार बनाएको भेटपछि सङ्घका अध्यक्ष खतिवडाले बताउनुभयो ।

ध्यानाकर्षण पत्र :

जनचेतनामूलक सामग्री सम्पूर्ण रेडियोहरूबाट प्रसारणार्थ तत्काल लोककल्याणकारी विज्ञापनको निम्ति बजेट विनियोजन गरी कार्यारम्भ गरियोस् ।

सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको निम्ति पुर्‍याउँदै आएको महत्वपूर्ण योगदान तथा वर्तमान अवस्थामा रेडियोको आर्थिक व्ययभारलाई मध्यनजर गरी सामुदायिक रेडियोको नवीकरण शुल्क र रोयल्टी मिनाहा गर्नुका साथै टेलिफोन र विद्युत् महशुलमा विशेष सहुलियत दिनका लागि हामी, सरकारको ध्यानाकर्षण गर्दछौँ ।

स्थानियतहका भरपर्दा र प्रभावकारी सञ्चारमाध्यम भनेकै सामुदायिक रेडियोहरू भएकाले यसको प्रभावकारिताका आधारमा प्रदेश सरकार र स्थानीय तहहरूले आफ्ना लक्षित नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गराउन एवं कोरोना भाइरससम्बन्धी जनचेतनामूलक सामग्री प्रसारणमा सामुदायिक रेडियोसँग साझेदारी गर्ने प्रबन्ध सुनिश्चितताका लागि हामी, सरकारको ध्यानाकर्षण गर्दछौँ ।

सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूमा समेत पुष्टि नभएका भ्रमपूर्ण समाचार सम्प्रेषण भइरहेको यो डरलाग्दो वर्तमान अवस्थालाई मध्यनजर गरी सामुदायिक रेडियो र सामुदायिक सूचना नेवटर्क (सीआईएन) ले कोरोना भाइरसको सङ्क्रमणबारे आम नागरिकलाई सचेत बनाउन, कोरोना भाइरससम्वन्धी त्यस्ता भ्रम चिर्दै यसवारे यथार्थ जानकारी गराउँदै आएको छ ।

यसको सुदृढिकरणको लागि पहल गर्न हामी, सरकारको ध्यानाकर्षण गर्दछौँ ।

आमनागरिकलाई ससूचित गर्नुपर्ने राज्यको दायित्वलाई सहयोग पुर्‍याउन प्रतिबद्ध हुँदै कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिमपूर्ण रुपमा अहोरात्र तल्लीन सञ्चारकर्मीहरूको जीवन रक्षाका लागि विशेष व्यवस्था गर्न हामी सरकारको ध्यानाकर्षण गर्दछौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here