बगाएर सधैं लान्छ, हा हा गर्दै कराउँछ
दैव नै छैन कि क्या हो ,चित्कारमा रमाउँछ ।

सिन्धुले विन्दु यो बिर्सि ,सारा नृत्य चलाउँछ
निर्दोषी नेत्रका भाषा, बुझ्दैन त्यो निमोठ्दछ ।।

भृगीको नाँच नाचेर, धरा कम्प गराउँछ
चण्डीको उग्र भाँतीले, धराधाम डराउँछ ।

वायुवेग रिसाएर ,भोटेकोसी सुसाउँछ
कोसी बहाब त्यो थुन्दै, लास हार लगाउँछ ।।

हँसिलो फूलको बारी, उजाडेर लग्यो किन ?
हे गौराती सबै देव, चुप लागि बस्यौ किन ?
हरेक वर्षमा बिघ्न, बाधा जति भए पनि
भीमेश्वर निदायौ कि, छिमेकमा भए पनि ।।

खोला खोल्सा सुसाएर , एक गाँस भरी लग्यो
जुरेले मात्र के पुग्थ्यो, ठाउँ ठाउँ गई सर्यो
अजङ्ग कालको निम्ता, देखेर हे भयङ्कर
ज्यानको भीख मागेर , पुरिए नि कठै नर ।।

पवित्रा दाहाल
२०७७/४/३१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here