सिन्धुली, बिहिबार, १८ भाद्र २०७७ । सिन्धुलीगढी युद्धमा प्रयोग भएका घरेलु हतियार तथा तत्कालिन पुरातात्विक, ऐतिहासिक सामग्रीको खोजी सुरु भएको छ । कमलामाई नगरपालिका वडा नं. ३ मा रहेको ऐतिहासिक महत्वको सिन्धुलीगढीमा युद्ध संग्राहलयको निर्माणसँगै तत्कालिन युद्धमा प्रयोग भएका घरेलु हतियार तथा ऐतिहासिक सामग्रीको खोजी थालिएको हो ।

यसै क्रममा वि.सं.१८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध सेनाहरुसँग भएको निर्णायक युद्धमा बंशुधर थापा मगरले चलाएको भाले खुँडा संग्राहलयलाई प्राप्त भएको छ ।

साविक भद्रकाली गा वि सका पूर्व अध्यक्ष तथा योद्धा बंशुधर थापा मगरका सन्तान हरिबहादुर थापाले उक्त खुँडा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री र वर्द बहादुर गणका गणपति विजय थापालाई आफ्नै घरमा हस्तान्तरण गरेका छन् । उनले तत्कालिन युद्धमा प्रयोग भएको भाले खुँडा संग्राहलयमा राख्नका लागि हस्तान्तरण गरेका हुन् ।

साथै, नगरपालिकाले तत्कालिन युद्धमा सामेल भएका स्थानीयहरुको घर घरमा युद्धकालिन सामग्रीको खोजी गर्न थालेको कमलामाई नगरपालिकाका अधिकृत सागर कुमार ढकालले बताए ।

उनका अनुसार रतनचुराको खनियाँखर्कका स्थानीयहरुले पगरी, गैंडे ढाल, पोथि तरबार दिने भएका छन । यस्तै नगरपालिकाले साविकको जलकन्या गाविसमा पनि त्यस्ता सामग्री हुन सक्ने भन्दै खोजी गर्ने भएको हो ।

यस्तै नगरपालिकाले ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुहरु भएमा संग्राहलयलाई उपलब्ध गराउन अनुरोध समेत गरेको छ । ऐतिहासिक सामग्री उपलब्ध गराउनेलाई नगरपालिकाले उचित सम्मान गर्ने भएको समेत ढकालले बताए । नेपाली सेनाले बनाउँदै गरेको संग्राहलयको ६० देखि ६५ प्रतिशत काम सकिएको र छिट्टै संग्राहलय निर्माणको काम सकिने पनि उनले जानकारी दिए । राजधानी अनलाइनबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here