गोरखा, शुक्रबार, २ साउन २०७७ । सिरानचोक गाउँपालिकाको बुधबार सम्पन्न छैठौं गाउँसभाबाट सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा ऐतिहासिक तथा सांस्कृतिक पर्यटनलाई विशेष जोड दिइएको छ ।

सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले घोषणा गर्नु भएको नीति तथा कार्यक्रममा ‘हाम्रो इतिहास, हाम्रो गौरव, हाम्रो पर्यटन’ मूल नाराका साथ ऐतिहासिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उल्लेख गरिएको छ ।

एकीकरण पदमार्ग निर्माणमा लागेको नेपाली सेनासंग सहकार्य गरी सिरानचोक गाउँपालिकाले लिगलिग, सिरानचोक, गोरखा दरबारसम्मको एकीकरण पदमार्ग बनाउने कार्यक्रम तय गरेको छ ।

त्यसैगरी, श्रीनाथ मण्डलीलाई ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल घोषणा गर्ने उल्लेख गरिएको छ ।

नेपाल एकीकरणमा उल्लेखनीय योगदान दिने पृथ्वीनारायण शाहका सहयोगी झागल गुरुङ र ऐतिहासिक योद्धा अमरसिँह थापाको जन्मस्थल सिरानचोक भएकाले उहाँहरुको योगदानको कदरस्वरुप उहाँहरुको नाम जोडेर ऐतिहासिक, साँस्कृतिक पर्यटन विकास गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

साथै, अमरसिँह थापाको स्मृति दिवसको अवसरमा, हरेक बर्षको साउन १६ गते गाउँपालिकाभर सार्वजनिक विदा दिने पनि घोषणा गर्नु भयो । त्यसैगरी, गाग्रेडाँडामा एकीकरण पार्क र वडा नं. ६ मा अमरसिँह पार्क निर्माण, गर्ने सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले घोषणा गर्नु भयो ।

गाउँपालिकाले यसबर्ष कृषि र पशुपालन व्यवसाय प्रवर्धनमा पनि विशेष जोड दिएको छ । विभिन्न संघसंस्थासँग सहकार्य गरी कृषि सम्बन्धी सबसेक्टर प्लान बनाइने, एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने र ठाउँ-ठाउँमा बिभिन्न बाली पकेट क्षेत्र घोषणा गरी कार्यक्रम लागु गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँ-गाउँमा कृषि प्रणालीलाई प्रभावकारी बनाउन हरेक वडामा जेटिए राख्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । बाँझो जग्गा उपयोगको नीति लिई गाउँपालिकाले भाडा वा करारमा जग्गा लिई खेती गर्ने, सामुहिक खेतीलाई बढवा दिने, उत्पादिक कृषि उपजको बजारिकरणमा जोड दिने कार्यक्रम घोषणा गरेको छ ।

साथै, सहकारीद्वारा गरिएका खेती प्रणालीलाई बढवा दिने, उत्पादिन स्थानीय कृषि उपजलाई बजारी करण गर्न हाटबजारलाई विकास गर्ने, कोल्डस्टोर बनाउने, प्रशोधनकेन्द्र बनाउने तथा सुरक्षित भण्डारणगृह निर्माण गर्ने पनि नीति कार्यक्रममा उल्लेख छ । एक घर एक बगैँचा, बर्गीकरणमा आधारित कृषक परिचयपत्रको व्यवस्था गरी किसानलाई सहुलियत र अनुदानको व्यवस्था गर्ने कार्यक्रममा उल्लेख छ ।

सिरानचोक गाउँपालिकाको प्रचारप्रसारमा जोड दिने उद्देश्यले सिरानचोक र यहाँका बिभिन्न ठाउँको शव्द राखेर गीत तथा म्युजिक भिडियो बनाउने कलाकारलाई अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । घुमाउने घर लगायतका प्राचीन शैलीको घर बनाउनेलाई अनुदान दिने, बोटानिकल पार्क, मनोरञ्जन पार्क निर्माण गर्ने जनाइएको छ ।

गाउँपालिकास्तरीय सहकारी संघ बनाई सहकारीले गर्ने खेती तथा पशुपालनलाई विशेष छुट र सहुलियत प्याकेज लागु गर्ने, चोरकाटेमा औद्योगिक ग्राम बनाउने कामलाई तिब्रता दिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा कुनै आमाले अकालमा मृत्यूबरण गर्नु नपरोस् भन्ने हेतुले उपाध्यक्ष आमा स्वास्थ्य कार्यक्रम लागु गर्ने, आकस्मिक हेलिउपचार सेवाका लागि आठ वटै वडामा हेलिप्याड निर्माण गर्ने पनि गाउँपालिकाले नीति लिएको छ ।

त्यसैगरी, गाउँपालिकाले कोभिड १९ बाट सिर्जित संकट व्यवस्थापनलाई प्राथमिकता दिने पनि निणर्य गरेको छ । सुधारिएको सडकसहितको पूर्वाधार निर्माण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, स्वास्थ्यको गुणस्तर वृद्धि, सूचना प्रविधि तथा संचारमा विकास, सुशासन प्रवद्र्धन र सार्वजनिक सेवामा सुधार ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

उद्यमशीलता र सहकारिताको विकास, विपद व्यवस्थापन पूर्वतयारी र राहत, उद्धार, पुनस्थापना, पुनर्निर्माण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकालाई पाँचबर्षभित्र अण्डा, मासु र दूधमा आत्मनिर्भर गराउन विशेष कार्यक्रम लागु गर्ने, नश्लसुधार, कृत्रिम गर्भाधान प्रणालीलाई जोड दिने पनि गाउँपालिकाका प्रमुख राजु गुरुङले घोषणा गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here