मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिरानचोक गोरखा जिल्लाको ऐतिहासिक, प्राकृतिक, धार्मिक , साँस्कृतिक तथा पुरातात्विक स्थलको रुपमा परिचित रहेको छ । पूर्वमा दरौदी नदी, पश्चिममा चेपे नदी, दक्षिणमा लिगलिगकोट र उत्तरमा अजिरकोटको बीचमा अवस्थित सिरानचोक नेपाली झर्रा भाषामा “सिरानचोक डाँडा” को रुपमा परिचित रहेको छ ।

नेपालको मानचित्रमा गाउँपालिकाको स्थिति :

प्रदेश : गण्डकी जिल्ला : गोरखा
पालिका : सिरानचोक गाउँपालिका
वडा संख्या : ८
पुर्व : अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका
पश्चिम : पालुङ्गटार नगरपालिका
उत्तर : राईनास नगरपालिका र दुधपोखरी गाउँपालिका
दक्षिण : भीमसेनथापा गाउँपालिका र गोरखा नगरपालिका
क्षेत्रफल : १२१.६६ वर्ग कि.मि
उचाइ : ४३४ मि. देखि १९७३ मि. सम्म
औसत लम्वाई : १४ कि.मि
औसत चौडाई : १६ कि.मि

ऐतिहासिक चिनारी तथा नामाकरण

ऐतिहासिक, पुरातात्विक गढी (जेठा कोट, माइला कोट, कान्छा कोट) एवं श्रीनाथ बाबा र श्रीनाथ मण्डली, जोगी गुफा भन्ने स्थानमा रहेको महादेव शिवालय समेत रहेको सिरानचोक गाँउपालिकाको नामाकरण सम्बन्धमा विभिन्न भनाईहरु रहेका छन् जसमध्ये एउटा प्रचलित भनाई अनुसार सिरानचोकको पुरानो नाम स्यार्तन हो l स्यार्तनको अर्थ सबैको प्रिय अग्लो डाँडा भन्ने हुन्छ l वरिपरिका डाँडाहरु मध्ये, गोरखा देखि सबै भन्दा नजिकको अग्लो डाँडाको रुपमा चिनिने यस क्षेत्र नेपाल एकिकरणको प्रारम्भिक स्थान र तत्कालिन अवस्थामा गोरखा राज्यको वाइसे चौविसे राज्यहरुको आक्रमण बाट बच्न र उनीहरु सँग लडाई गर्ने रक्षा किल्लाको रुपमा परिचित छ l वडाकाजी अम्मर सिंह थापाको बुबा बाघ भिमसेन (भिमसिंह) थापाले समेत नेतृत्व गरेको किल्लाको रुपमा परिचित भएता पनि गोरखा राज्यको निर्माणको क्रममा वि.सं. १६१६ देखि १८३७ सम्म विभिन्न पटक चौविसे राज्यहरुसँग लडाई भएको गढी सिरानचोक गढीमा अन्तिम पटक वडाकाजी अम्मर सिंह थापाको नेतृत्वमा चौविसे राज्यहरुलाई पराजित गरी गोरखा राज्यको सिमाना चेपे र मर्स्याङदी नदीको किनार पार गरी अगाडी बढेको ईतिहासमा पाइन्छ l बाघ भिमसेन थापा र वडाकाजी अम्मर सिंह थापाको जन्मस्थल सिरानचोकमा नै रहेको देखिन्छ र तत्कालिन गोरखा राज्यका सेना झागल गुरुङको जन्म स्थल समेत सिरानचोक हो भन्ने भनाई रहेको छ l त्यसैले यस गाँउपालिकाको नामाकरण ऐतिहासिक नामाकरण भएको हो l श्रीनाथकोटमा शिर रहेको सिरानचोक डाँडाले तत्कालिन, थालाजुङ, साविक छोप्राक, गाँखु, श्रीनाथकोट र जौबारी गाँउ विकास समितिको सँगम स्थल रहेको भू-भाग हो |

सिरानचोकको पुरानो नाम स्यार्तन हो । स्यार्तनको अर्थ सबैको प्रिय “अग्लो डाँडा” भन्ने हुन्छ । वरिपरिका डाँडाहरुमध्ये, गोरखादेखि सबैभन्दा नजिकको अग्लो डाँडाको रुपमा चिनिने भएकाले पनि सिरानचोक नाम रहन गएको हुन सक्छ ।

 सिरानचोक सबैको साझा र प्यारो क्रिडास्थल समेत बनेको छ । वरपर घनाजंगलले ढाकिएको सिरानमा टुडिखेल, दायाँपट्टी श्रीनाथ मण्डलीको मन्दिर, बायाँतर्फ लहरै तीनवटा ऐतिहासिक  राजाका दरबारको रुपमा रहेका कोटहरु क्रमश जेठाकोट, माइलाकोट र कान्छाकोट रहेका छन् । दरबारका भग्नावशेष अझै पनि बाँकी रहेको छ । कोटका वरपर सुरक्षाका लागि खनिएका बंकरहरु यद्यपी रहेका छन् । जुन यस ठाउँमा युद्धका बेला धेरै रगत बगेकाले अझ गहिरो (खोल्सा) (खावा) को रुपमा परिणत हुन पुगेको हो भन्ने किँम्बदन्ती रहेको छ । युद्धका बेला रगत बगेको खोल्सा जुन अझसम्म पनि यथावत रुपमा रहेको छ ।

नजिकबाट नै देखिने बुद्धचुली हिमाल तथा गणेश हिमालका मनमोहक दृश्य सिरानचोक डाँडाको शोभालाई  बढाएको छ । बसन्त ऋतुमा वनैभरी  लालिगुरासका रहर लाग्दा फूलका थुंगाहरुले स्वागत गर्न आउदा सिरानचोक पुरै रातो भई बेहुली झै बन्दा अझ आनन्दित हुन् सकिन्छ ।

ऐतिहासिक, पुरातात्विक, प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिरानचोक अनुसन्धान कर्ताका निम्ति रोजाइको स्थल बन्न सक्छ, नेपाल एकिकरण प्रारम्भिक थलो र पुरातात्विक महत्वले विशेष नाम कमाएको ऐतिहासिक स्थल पनि सिरानचोक एक हो ।

सिरानचोकबाट चितवन जिल्लाका फाटहरु सजिलैसँग देख्न सकिन्छ । यहाँ पाइने लालीगुराँस, कटुस, चिलाउने, उत्तीस, भलायो, बेलाउनी, चाँप, छेरकाउँलो, तिँदु, लाँकुरी, काफल, धयाँरी, अर्जाल, पैंयू आदिले पनि जंगललाई  अझ घना र मनमोहक बनाइदिएको छ , त्यसैगरि, यहाँ औषधीको रुपमा प्रयोग गरिने अनगिन्ती जडीबुटीहरु पनि पाइन्छ । प्रकृतिले दिएको अथाह र अमूल्य सम्पदालाई आजसम्म सही रुपमा उपयोग गर्न सकिरहेको अवस्था भने छैन ।

सिरानचोक रमणीय र शान्त ठाउँ हुनुमा यहाँ पाईने बन्यजन्तुको पनि त्यतिकै ठूलो भूमिका रहेको छ ।  घनाजंगल भएको कारणले गर्दा , यहाँ विभिन्न किसिमका वन्यजन्तुहरु पाइन्छ : चितुवा, हरिण, मृग, घोरल, कालिज, भ्याकुर, लुइचे, तीथ्रा, ढुकुर, काग, तोरिगाँडा, लाम्पुछ्रे , हलेसो लगायत अन्य  मुख्य वन्यजन्तु एवं पशुपंक्षीहरु हुन् । “कालिजको बसाइ, ढुकुरको घुराई र मृगको खोकाइले जंगल नै संगीतमय भए जस्तो लाग्छ ।

 ” प्राकृतिक मनोरमता, ऐतिहासिक गढी-दरबार, जैविक विविधता र स्थानीय मौलिक सांस्कृतिक , धार्मिक , साँस्कृतिक पक्षलाई ध्यानमा राख्दै हालै नेपाल सरकारले पनि सिरानचोकलाई पर्यटन स्थलको रुपमा घोषणा गरेको छ ।”

 सिरानचोक डाँडाले पाँच गाउँ विकास समितिको भू-भागओगटेको छ । श्रीनाथकोट, जौवारी, थालाजुङ्ग , छोप्राक र गाँखु गाविसलाई काखमा राखेका सिरानचोकको शिर भने श्रीनाथकोटमा पर्दछ ।

अन्य बिभिन्न समुदाय लगायत यस भेगमा गुरुङ  समुदायको बर्चस्व रहेको यस थुमका गाउँहरु क्होला आरुबोट, कुलगाउँ, गैह्रीगाउँ, लप्से, झारगाउँ, भंगेरी, कपुरस्वाँरा, धर्मथली, कुत्तिजुङ्ग , सिम्ले, गैह्रागाउँ, उत्तिन दूङ्गा , गाँखु, पात्ले, चित्रे, भाँगे, तल्लोपाम, माथिल्लोपाम, खमारी, राम्चे, देवस्वाँरा, थालाजुङ्ग, आरुबोट, दूधपोखरी, सिउरेनी, सिम्ले, बडे , काउले, तीनघरे, ठूलोस्वाँरा, पाठस्वाँरा, चिलाउने, कल्दुङ्ग ,चिप्लेटी , नयाँगाउँ, व्याखर्क , ठोट्नेरी, उम्रुङ्ग , जौवारी हुन् ।

 यी गाउँभन्दा अन्य ठाउँहरु कोंजे, डाँडा गाउँ, शिरचोक, नेपाने सिरानचोकको परिधिभित्र नपरेता पनि त्यहाँका बासिन्दाहरु आफूलाई सिरानचोके नै भन्न रुचाउँछन् । फ़िनिअल

हाल यी क्षेत्रहरुलाई गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाको क्षेत्रफल १२१.६६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसंख्या २३,६२८ रहेको छ । यसको सीमाना पूर्वमा सुलीकोट गाउँपालिका, पश्चिममा पालुङटार नगरपालिका र लमजुङ जिल्ला, उत्तरमा अजिरकोट गाउँपालिका र लमजुङ जिल्ला तथा दक्षिणमा गोरखा नगरपालिकासँग जोडिएको छ ।

सिरानचोक गाउँपालिका गोरखा जिल्लामा अवस्थित रहेको  छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका केराबारी, थालाजुङ, हर्मी , छोप्राक, गाँखु , श्रीनाथकोट र जौबारी गाउँ विकास समितिहरूलाई समेटेर सिरानचोक गाउँपालिका घोषणा गरिएको हो । हाल गोरखाको सिरानचाेक गाउँपालिकाकाे केन्द्र चित्रेपाेखरी निर्धारण गरिएको छ । गत (३१ असार) बुधबारका दिन बसेकाे छैठौ गाउँ सभाले केन्द्र वडा न ५ काे चित्रेपाेखरी निर्धारण गरेकाे थियो । गाउँसभाका दुईतिहाइ भन्दा धेरै सदस्यले चित्रेपोखरीको पक्षमा समर्थन जनाएपछि चारबर्षदेखि अलमल रहेको गाउँपालिकाको केन्द्र निश्चित भएको हो ।

सिरानचोक गाउँपालिका-१ केराबारी अन्तर्गत माथिल्लो भिरसिङ्ग, तल्लो भिरसिङ्ग, भिरसिङ्ग, पखेरा, बालथान, बिरौटा, चैनपुर, चिसापानी, नौलेडाँडा, झाक्रीडाँडा, नेपाने पखेरा, लामागाउँ, माथिल्लो  नेपाने, तल्लो नेपाने, आरखले, खरबारी, आन्जुंङ्ग, कुबिन्ड़े, सार्कीढाड, आरघडे, राधे, कोजे, कुप्रे, डाँडागाउँ, ढकालगाउँ, सार्कीटोल, केराबारी र सिमचौर आदि गाउँहरु  रहेका छन् ।

त्यसैगरी, थालाजुङ्ग-२ अन्तर्गत खमारी, माथिल्लो पाम, खामारी, राम्चे, मुङ्गे, पाण्डेबेशी, झिम्रेक,  घर्तीपानी, महिपत्ते, लाकुरीबोट, ओख्रेनी, सिम्ले, सिउरेनी, थाम, देबीस्वाँरा , थालाजुङ्ग, काउले, बत्ते, तिनघरे, चौका, आरुबोट, ठुलोस्वाँरा र चिलाउने आदि गाउँहरु रहेका छन् ।

त्यसैगरी, हर्मी-३ अन्तर्गत बयापानी, पाडेगाउँ, राईगाउँ, मुकुनडाँडा, बानियाँगाउँ, निमारे, मल्लटार, धुरेगाउँ, बस्नेतगाउँ, पराजुलीगाउँ, संजेलगाउँ, खनालगाउँ, सापकोटागाउँ, काउलेगाउँ, घिमिरेगाउँ, नवलपुर, भण्डारीगाउँ, थानेस्वारा, बंगालेगाउँ, हर्मी , थापागाउँ, धादिगाउँ, तारीगाउँ, तिधुबोटे, कन्चनपानी, पात्लेपानी आदि गाउँहरु रहेका छन् ।

त्यसैगरी, छोप्राक-४  अन्तर्गत चोरकाटे, तल्लो टार, माथिल्लो टार, तल्लो कमलबारी,माथिल्लो कमलाबारी, ठुल्घरे , बानियाँटार, थुम्का, माझगाउँ बेशी, तामडाँडा, थामपाटा, चुटुङ्गा, माथुरे, आरुबोट, फिरफिरे, जैशीथोक, खेपुवा, भलोबोट, बबलीगाउँ, कुवापानी, कोइलीपानी, राम्चे र अधुवाबारी आदि गाउँहरु रहेका छन् ।

त्यसैगरी, छोप्राक-५ अन्तर्गत तल्लो पाम, भाँगे, चित्रे, भालबारे, थुम्की, चिउरीबोट, भट्टगाउँ, गरमबेशी, घिमिरेगाउँ, कटरबारी, अमराई, हरिबले, सालाबोट, जोला,लामसुती, पदरगाउँ, भट्टगाउँ,डाँडागाउँ, ग़ैरागाउँ, मैदान, काप्रेस्वाँरा, रितगाउँ, च्यानडाँडा, बानियाँगाउँ, रानीस्वाँरा, लामागाउँ, जरेबर र क्योवर पानी आदि गाउँहरु रहेका छन् ।

त्यसैगरी, गाँखु-६ अन्तर्गत पात्ले, उत्तिन दूङ्गा, तल्लो गाँखु, उपल्लो गाँखु, जिम्मलगाँउ, सिउडे, बानियाँगाउँ, डाडेगाउँ, जरेबड, घन्सारडाँडा , तल्लो बजार, चर्पूटार, खैरेनीबन, झुन्डे चौर, माथिल्लो मगर   गाउँ, चिलाउने  गाउँ, भलायो डाँडा, बादीगाउँ, ठुलोगाउँ, मौवाटार, खनालगाउँ, बेलडाँडा, नयाँ बजार, कालमाटा, सानाटार, घलेगाउँ, बासपुर, बरस्वाँरा,गैह्रीगाउँ,र केराढाप आदि गाउँहरु रहेका छन् ।

त्यसैगरी, श्रीनाथकोट-७ अन्तर्गत खहरे, सिम्ले, लप्से-भंगेरी, झारगाउँ, चादी, चिन्ड़े, शिखर, झोले, आरुबोट, कुलगाउँ, उपल्लो गोहोरे, तल्लो गोहोरे, साठीमिरे र अर्कुल आदि गाउँहरु रहेका छन् ।

त्यसैगरी, जौबारी-८ अन्तर्गत चिप्लेटी, बलेखु, कालिमाटी, फिनाम, लाङ्गदी, ठोट्नेरी (मगरगाउँ), ब्याखर्क, कल्दुङ्ग , खोप्टे, झाक्रे, टोर्के, जौबारी, गुमाउरे डाँडा, पहरे पानी, धारापानी, कल्दुङ्ग , पन्तगाउँ, बेलाबोट, भट्टगाउँ, दवाडीगाउँ, सिमलबोट, बारेबोर्ड, चिउरीबोट, फिनामटार आदि गाउँहरु रहेका छन् ।

२०७७-५-१४

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here