काठमाडौं, शनिबार, ३ जेठ २०७७ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको जानकारी दिएको हो ।

उनी नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुने पहिलो महिला हुन् । हालसम्म नेपालमा २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये ३६ जना उपचारपछि निको भइसकेको छ भने मृत्यु भने पहिलो हो ।

आजै पशुपतिस्थित विधुतिय शवदाह गृहमा अन्तेष्टि गरिने भएको छ । उनको ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि-२०७६’ अनुसार नै अन्तेष्टि हुने मन्त्रालयले जनाएको छ ।

८ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी डिस्चार्ज भएपछि सिन्धुपाल्चोक बाह्रबिसे गएकी थिइन् । तर, श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो ।

अस्पतालमा उनलाई आवश्यक उपचार प्रक्रिया अगाडि बढाइएको थियो । भेन्टिलेटरमा राख्ने तयारी भइरहेको समयमा उनको मृत्यु भएको बताइएको छ ।

अस्पतालमा उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि अस्पतालले उनको स्वाबको थप परीक्षणका लागि टेकु पठाइएको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उनमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीको नमूना संकलन गरी परीक्षणको काम भइरहेको छ ।

बाह्रबिसे नगरपालिकाकी उप मेयर सुशिला पाख्रिनका अनुसार ती महिला सिन्धुपाल्चोक राम्चेकी हुन् । उनी २५ गते एम्बुलेन्समा गाउँ फर्केकी थिइन् । उनलाई जेठ १ गते श्वास फेर्न असहज भएको थियो । श्वासप्रस्वासमा समस्या आएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रिबसे लगिएको थियो । केन्द्रले उनलाई धुलिखेल अस्पताल रेफर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here