काठमाडौँ, बिहिबार, २२ जेठ २०७७ । नागार्जुन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा उप-सचिव सुरेन्द्र थापा मगरले बुधवार पदबहाली गर्नुभएको छ । यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उहाँले बुधवारदेखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकोरूपमा पदबहाली गर्नुभएको हो ।

उहाँलाई नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख सुशीला अधिकारी, नगरपालिकाका सबै वडाध्यक्ष, कार्यपालिका सदस्य र नगरपालिकाका विभिन्न शाखाका कर्मचारीले भव्य स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा नगरप्रमुख बस्नेतले नगरपालिकाको सेवा प्रवाह, सुशासन कायम गर्न र विकास निर्माणको काममा प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले प्रमुख प्रशासकीय अधिकृतले कानुन र नियमभित्र रहेर र स्थानीय सेवाग्राहीको भावना अनुसार काम गर्ने अपेक्षा व्यक्त गर्दै नगरपालिकाको विकास निर्माण र सुशासन कायम गर्न प्रमुख प्रशासकीय अधिकृतबाट टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वागत कार्यक्रममा प्रमुख प्रशासकीयक अधिकृत सुरेन्द्र थापा मगरले आफूले स्थानीय निकायदेखि स्थानीय सरकारसम्मको अनुभव बटुलेको भन्दै नगरपालिकाको काम गर्ने क्रममा सबै पक्षबाट साथ र सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो । जनप्रतिनिधि र कर्मचारीको साझा प्रयासबाट मात्र नगरपालिकाको लक्ष्य पूरा गर्न सकिने उहाँले स्पष्ट गर्नुभयो ।

नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले नगरपालिकाको नीति, कार्यक्रम र बजेट निर्माणमा क्रममको मुखैमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनले थप सहयोग पुग्ने बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष थुमराज केसीले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्दै आफूहरुको तर्फबाट उहाँलाई सबै साथ र सहयोग हुने बताउनुभयो ।

सोही अवसरमा नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने महानगरिय प्रहरी वृत्त स्वयम्भुका डीएसपी लालध्वज सुवेदीको विदाइ तथा नयाँ डिएसपी निरञ्जनदत्त भट्टलाई स्वागत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here