February 24, 2024
खेलकुद

सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि धरानमा

काठमाडौँ, मंगलबार, ९ माघ २०८० । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि धरान गल्फ क्लबमा सुरू हुने भएको छ । तीन दिन सम्म चल्ने प्रो प्रतियोगिता ५४ होलको हुने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा ३० प्रोफेसनल र १० एमेच्योर गल्फरले भाग लिने निश्चित भएको नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीएका महासचिव दीपक आचार्यले बताए । मङ्गलबार सम्म नाम दर्ता गर्ने समय रहेकोले सहभागी सङ्ख्या बढ्न सक्नेछ। काठमाडौं बाहिर हुने दुई प्रतियोगिता माध्ये सूर्य नेपाल इस्टर्न ओपनमा धरानका ५ प्रोफेसनल गल्फरको सहभागीता रहनेछ ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई घरेलु कोर्समा उपाधि रक्षा गर्ने कोशिसमा रहनेछन । यो सिजन उत्कृष्ट फर्ममा रहेका तथा सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापति पनि प्रमुख दाबेदार हुन ।

यस्तै भुवन नगरकोटी,जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धन थापा पनि दाबेदार खेलाडी हुन। ३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन । यो पटक देखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन ।

प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका दुई उत्कृष्ट एमेच्योर खेलाडी सुबाश तामाङ र सदभाव आचार्यले सहभागीता जनाउने छैनन। सुबाश भारतीय गल्फ टुरको क्यू– स्कुलको तयारीमा रहदा सदभाव बङ्गलादेश ओपनमा सहभागी हुदैछन ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन। साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ ।

एनपीजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले प्रायोजक सूर्य नेपाल प्रालिलाई निरन्तरको सहयोग र साथको लागि धन्यवाद दिए। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन। जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *