एजेन्सी, सोमबार, १ भाद्र २०७७ । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्ला युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा युनाइटेडलाई २-१ गोलले पराजित गर्दै सेभिल्ला युरोपा लिगको फाइनलमा प्रवेश गरेको हो ।

सेभिल्लाको जितका लागि सुसो र लुक डी जोङ्गले एक एक गोल गरे । युनाइटेडका लागि ब्रुनो फेर्नान्डेजले एक गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भने युनाइटेडले लिएको थियो । युनाइटेडले सुरुवाती अग्रता जोगाउन नसक्दा सेभिल्लाले पुनरागमन जित निकालेको हो । खेलको नवौं मिनेटमा युनाइटेडले अग्रता लिएको थियो । फेर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका हुन् ।

तर, खेलको २६ औं मिनेटमा सुसोले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले रेगुइलोनको पासमा गोल गर्दै पहिलो हाफमा खेल १-१ को बराबरीमा ल्याएका थिए । त्यसपछि ७८ औं मिनेटमा डी जोङ्गले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । उनले जेसस नाभासको पासमा गोल गर्दै सेभिल्लालाई २-१ गोलको पुनरागमन जित दिलाएका हुन् ।

सेभिल्लाले सन २०१४,२०१५, २०१६, २००६ र २००७ गर्दै पाँच पटक युरोपा लिगको उपाधी जितेको छ । फाइनल खेल २१ अगस्टमा हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here