February 24, 2024
स्वास्थ्य

स्वास्थ्य स्वयमसेविका दिवस : शहिद लखनमा हाजिरीजवाफ प्रतियोगिता

गोरखा, बुधबार, २० मङ्सिर २०८० । महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर गोरखाको शहिद लखन गाउँपालिकाले मंगलवार बिभिन्न कार्यक्रम गरेको छ । दिवसको अवसरमा पालिकाभित्रका स्वास्थ्य संस्था बीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा ताक्लुङ स्वास्थ्यचौकी पहिलो, बुंकोट आधारभूत स्वास्थ्य केन्द्र दोस्रो र नामजुङ स्वास्थ्य चौकी तेस्रो भएका छन् । मनकामना स्वास्थ्य चौकीले सान्त्वना स्थान हासिल गरेको छ । उनीहरुले क्रमश १५ हजार, १२ हजार, १० हजार र ८ हजार नगद पुरस्कार पाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।

त्यस्तै प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई दुई हजारका दरले नगद उपलब्ध गराइएको उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पालिकाभित्रका नौवटै वडाका नौ वटा स्वास्थ्य संस्थाको सहभागिता रहेको थियो । दिवसकै अवसरमा म्यूजिकल चियर खेल पनि सम्पन्न भएको छ ।

उक्त खेलमा बुंकोट स्वास्थ्यचौकीकी महिला स्वयमसेविका बिभा राना पहिलो भएकी थिइन् । उनलाई नगद पुरस्कार उपलब्ध गराइएको पालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

दिवसकै अवसरमा बिहान मनकामना मन्दिर परिसरमा सरसफाइ समेत गरिएको छ । गाउँपालिकाभित्रका ५४ जना महिला स्वयमसेविका, स्वास्थ्यकर्मी, गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष लगायतको उपस्थितिमा सरसफाइ गरिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए ।

यता पालिकाले तीन दिने निशुल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ । वडा नम्वर ५ को सिद्धस्थानी माविमा आइतवारबाट संचालन भएको शिविर मंगलवार सम्पन्न भएको हो । शिविरमा तीन सय भन्दा बढीले सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । जिम नेपाल र पालिकाको संयुक्त आयोजनामा भएको शिविरमा बिशेष गरी दात सम्बन्धी सेवा दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *