गोरखा, शुक्रबार, १६ जेठ २०७७ । गोरखामा हाल १ सय ३२ जना क्वारेन्टिनमा बस्नु भएको छ ।

बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको आजको जटिल परिस्थितिमा जिल्लाका ११ वटा स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टिनमा भारत लगायत अन्य ठाँउबाट आएर बस्नु भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

त्यसैगरी, भारत लगायत जिल्ला बाहिरबाट गोरखा प्रवेश गर्नेहरु मध्ये हालसम्म क्वारेन्टिनमा राखिएकोमा २ सय १६ जनालाई घर पठाइएको छ । १४ दिनसम्म क्वारेन्टिनमा राखेर आरडिटी परिक्षणमा नेगेटिभ नतिजा आएकाहरुलाई होम क्वारेन्टिनमा पठाइएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

हाल क्वारेन्टिनमा रहेकामध्ये अधिकांश भारत लगायतबाट आउनु भएको हुनाले एक हप्तापछि आरडिटी र पिसिआर दुवै परिक्षण गरिने उहाँले बताउनु भयो । साथै, हालसम्म उहाँहरुमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी, गोरखामा हालसम्म १ सय ७० जनाको पिसिआर परिक्षण गरिएको छ । भारतबाट आएका, शंकास्पद लक्षण देखिएका विरामी लगायत गरी १ सय ७० जनाको कोरोना परिक्षण गर्दा १ सय ५६ जनाको नेगेटिभ नतिजा आएको प्रमुख जिल्ला अधिकारी समेत रहेका कमाण्ड पोष्टका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भयो ।

पिसिआर परिक्षण गरिएका मध्ये १४ जनाको भने रिपोर्ट आउन बाँकी रहेको बताउनु भयो । त्यसैगरी, गोरखामा हालसम्म ९ सय ८२ जनाको आरडिटी परिक्षण गर्दा ७ जनाको पोजेटिभ देखिएको छ । यसरी आरडिटीमा पोजेटिभ देखिएका ७ जनाको पिसिआर परिक्षणमा भने नेगेटिभ देखिएको पौडेलले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here