काठमाडौं, बिहिबार, २२ माघ २०७७ । संवैधानिक परिषद्हरूमा पदपूर्ति र शपथको विरोधमा आमहड्तालमा उत्रिएका नेकपा पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहका केन्द्रीय नेताहरूलाई प्रहरीले बिहानैदेखि धरपकड सुरु गरेको छ ।
आन्दोलनकारीहरूले बिहानैदेखि ट्याक्सीलगायत सवारीसाधनमा आगजनी गर्न थालेपछि प्रहरीले धरपकड र गिरफ्तार सुरु गरेको हो ।
कलंकीबाट नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य हितमान शाक्य, अमृता थापालगायत केन्द्रीय नेता पक्राउ परेका छन् । चाबहिल क्षेत्रबाट कृष्ण केसीलगायत केन्द्रीय नेता पक्राउ परेको विष्णु रिजालले जानकारी दिए ।
बागबजार क्षेत्रबाट रमेश मल्ललगायत नेताहरू पक्राउ परेका छन् । “सडकमा आन्दोलनकारी देख्नै नहुने प्रशासनको नीति रहेछ । बिहानैदेखि धरपकड सुरु गरेको छ,” रिजालले भने ।