ललितपुर, मंगलबार, ९ असार २०७७ । गोदावरी नगरपालिका-११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सञ्चालनमा आएको छ । वाग्मती प्रदेश सरकारले चालु वर्षमा रु ४९ लाख बजेट विनियोजन गरी मर्मत तथा सुधारको काम अघि बढाएसँगै उक्त कुलो सञ्चालनमा आएको हो ।

वि सं २०४६ देखि राम्रोसँग सञ्चालनमा नआएको राजकुलोबाट यस वर्षदेखि पानी चालु भएसँगै चापागाउँ फाँटमा धमाधम धान रोप्ने काम भइरहेको छ । सो फाँटमा दुईतीन दिनभित्र धान रोप्ने काम सम्पन्न हुने नं १ टीकाभैरव राजकुलो सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर महर्जनले बताउनु भयो । “यही असार २० गतेसम्ममा गोदावरीका १०, ११, १२ र १३ वडाका सम्पूर्ण खेतको रोपाइँ सकिन्छ ।” प्रदेश सरकारले दिएको बजेटअन्तर्गत ९९ प्रतिशत रकमले काम सम्पन्न गरिएको महर्जनले जानकारी दिनुभयो ।

आउँदो आर्थिक वर्षमा सो कुलो लगनखेल पु-याउन विस्तृत प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । सरकारले कुलो पुनःनिर्माणका लागि अर्को बजेट पनि थप गर्ने भएको ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले बताउनु भयो । “यस कुलोलाई हामी व्यवस्थित बनाउनाका साथै एक सय वर्षसम्म सञ्चालन हुने खालको गराउने छौँ ।” उहाँले भन्नुभयो ।

तीस वर्षपछि सञ्चालनमा आएको राजकुलोको पानीले यस वर्ष धान रोपाइँको काम धमाधम अघि बढिरहेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनु भयो । पहिलो चरणमा गत वैशाख १२ गते सो कुलोबाट पानी ल्याउन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, प्रतिनिधिसभाका सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्य सञ्जेल र राजकाजी महर्जन, गोदावरी नगरपालिकाका प्रमुख महर्जन, केही वडाध्यक्षलगायत स्थानीय जनताले अनुगमन गरेका थिए ।

त्यसैगरी, गत वैशाख २० गते महर्जनका अध्यक्षतामा १३ जनाको उपभोक्ता समिति गठन भएको थियो । दोस्रो पटक वैशाख २६ गते मन्त्री फुयाँलसहित प्रदेश तथा प्रतिनिधिसभाका सदस्य र नगरपालिका प्रमुखले अनुगमन गरेका थिए । सो कुलोको पानी धेरै वर्षअघिदेखि नै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) खुमलटारसम्म दैनिक पुग्ने गरेको बताइएको छ ।

प्रदेश सरकारले सार्वजनिक ऐन बनाउँदा शहरको सौन्दर्य देखिने गरी कुलोलाई अघि बढाउने मन्त्री फुयाँलले बताउनु भयो । राजकुलोको पानीले गोदावरी र पाटनका ६४ ढुङ्गेधारा पुनःजीवित हुनाका साथै गोदावरीको करीब ६० हजार रोपनी जमीन सिँचाइ हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here