February 24, 2024
समाचार समाज

३२औँ अन्तर्राष्ट्रिय अपांगता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, आइतबार, १७ मङ्सिर २०८० । आज ३२ औँ अन्तर्राष्ट्रिय अपांग दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपांग दिवस मनाइँदै आइएको छ ।

संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर हरेक डिसेम्बर ३ मा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय अपांगता दिवस सन् १९९२ देखि मनाउन थालिएको हो भने नेपालमा १९९३ देखि मनाउन थालिएको हो । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्‍यालीहरू आयोजना गरेर यो दिवस मनाइँदै छ ।

आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ तथा राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा बिहान ८ बजे भद्रकालीदेखि भृकुटीमण्डप सम्मको प्रभातफेरी तथा त्यसपछि भृकुटीमण्डपमा बृहत् सभाको आयोजना गरिने कार्यक्रम रहेको छ । ३२औँ अन्तर्राष्ट्रिय दिवसलाई साताभरि नै विभिन्न संघसंस्थाहरूको पहलमा भव्यताका साथ मनाउने कार्यक्रम रहेको पनि जनाइएको छ ।

अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको यस वर्षको राष्ट्रिय मूल नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने रहेको छ । यस नाराले दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै क्षेत्रले अपांगता भएका व्यक्तिहरूको अधिकार प्राप्तिमा पहल गर्न प्रतिबद्ध हुनका लागि आग्रह गर्दछ ।

राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्य, वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, महासचिव सुगम भट्टराई, प्रवत्ता रमेश पोख्रेलको अगुवाइमा शुक्रबार सम्पन्न भएको पत्रकार सम्मेलनमा बक्ताहरूले अपांगता भएका व्यक्तिहरूको हक अधिकारका बारेमा सबै पक्षको ध्यानाकर्षण गराउन तथा वर्षभरि नै अपांगताका बारेमा सबैतिर आवाज उठोस् भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको जानकारी गराउनुभएको थियो ।

नेपाल अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि २००६ को पक्षराष्ट्र हो त्यसैले यसमा उल्लेखित प्रावधानहरूलाई कार्यान्वयन गराउनु सरकारको अनिवार्य दायित्व अन्तर्गत पर्छ । नेपाल सरकारले २०७४ मा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ लागू गरेको छ भने २०७७ मा यससँग सम्बन्धित नियमावली लागू गरिसकेको छ । यसैगरी, २०६९ सालमा अपांगता भएका व्यक्तिको लागि भौतिक पहुँच तथा सञ्चार सेवा निर्देशिका लागू गरेको छ ।

यी तीनवटा कानुनी दस्तावेजहरू नेपालका तीनवटै तहहरूका लागि अपांगता भएका व्यक्तिको हक हितमा काम गर्न निर्देश गर्ने मूल दस्तावेजहरू हुन् जसले अपांगता भएका व्यक्तिका लागि राज्यले सुनिश्चित गर्नुपर्ने सबैखाले सेवा सुविधा, हक अधिकार र सहुलियतको बारेमा उल्लेख गरेको छ ।

नीति र नियमहरूमा विभिन्न व्यवस्थाहरू उल्लेख गरिएको भए तापनि अपांगता भएका व्यक्तिको जीवनमा परिवर्तन ल्याउने गरी कानुनी र नीतिगत प्रावधानहरूको कार्यान्वयनको अवस्था भने एकदमै कमजोर रहेको सरोकारवालाहरूको भनाइ छ ।

नेपालमा अपांगता भएका व्यक्तिहरू सीमान्तकृत समुदायको रूपमा चिनिन्छन् । शारीरिक, मानसिक, बौद्धिक र इन्द्रियसम्बन्धी अवस्थाको आधारमा हुने विभिन्न प्रकारका भेदभाव, दुव्र्यवहार, हिंसा तथा मानवनिर्मित भौतिक संरचना तथा सूचना तथा सञ्चारमा हुने अवरोधहरूका कारण अपांगता भएका व्यक्तिहरू सधँै मानव अधिकारको समान उपयोग, आधारभूत सेवा सुविधाको उपयोग, मौलिक हकहरूको उपयोग, अवसरहरूको समान उपयोगमा सबैभन्दा पछाडि पारिएका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपांगता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७४४ छ । जसमध्ये पुरुष तीन लाख ५१ हजार ३०१ र महिला दुई लाख ९३ हजार ४४३ छ । प्रतिशतका रुपमा अपांगता भएका पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छ । तथ्यांकअनुसार अपांगता भएका व्यक्तिमध्ये सबैभन्दा धेरैमा शारीरिक अपांगता भएकाहरू ३७.१ प्रतिशत छ ।

यस्तै, १७.१ प्रतिशतमा न्यूनदृष्टि अपांगता, ८.९ प्रतिशतमा बहुअपांगता, ८.० प्रतिशतमा सुस्तश्रवण, ६.४ प्रतिशतमा स्वर बोलाइसम्बन्धी अपांगता रहेको छ ।

नेपाल सरकारद्वारा अपांगतालाई सात भागमा विभाजन गरिएको छ । जस्तै- शारीरिक, दृष्टिसम्बन्धी, सुनाइसम्बन्धी, श्रवण दृष्टिविहीन, मानसिक अपांगता र बहुअपांगता । तर, अशक्त तथा गम्भीरताको आधारमा भने पूर्ण अशक्त अपांगता, अति अशक्त अपांगता, मध्यम अपांगता र सामान्य अपांगता गरी चार भागमा वर्गीकरण गरेको पाइन्छ । सात प्रकारका अपांगताभित्र पनि विभिन्न प्रकारक समस्या भएका अपांगता भएका व्यक्ति छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *