Friday, February 26, 2021
More

    ४६० वर्षअघि लिगलिग राज्यले गोरखा राज्यमाथि हमला गरेर युद्ध जितेको सम्झनामा “म्याराथुन दौड”

    गोरखा, २०७६ साल भाद्र २७ गते शुक्रबार । गोरखा राज्य स्थापना भएको सम्झनामा ‘उत्पति देखि जग सम्म” भन्ने नाराका साथ लिगलिगकोट – सिरानचोककोट – गोरखा दरबार खुला म्याराथुन दौड सम्पन्न भएको छ । बुधबार बिहान १ सय १४ जना धावकले दौडमा सहभागीता जनाउनु भएको थियो । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र गोरखामा रहेको नेपाली सेनाको रणसिंह दल गणको संयुक्त आयोजनामा उक्त दौड सञ्चालन गरिएको थियो । दौड  बिहान ७ बजेर १० मिनेटमा सुरु भएको थियो ।

    ऐतिहासिक लिगलिगकोटदेखि आँपपिपल, हर्मी, थुम्की, चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेवेटार, मान्द्रे ढुङ्गा, हिलेपोखरी, पस्लाङ्ग, ठुलो आँगन, सतिपिपल, गैरीकुवा हुदै गोरखा दरबार सम्म ४२ किलो मिटर दौड गरिएको थियो ।

    खुला म्याराथन दौड, नेपाल भ्रमण वर्ष २०२० का साथै जिल्ला भित्रको ऐतिहासिक र धार्मिक पर्यटकीय स्थलको प्रचार प्रसारका लागि भएको दौडमा गोरखा आरुघाट गाउँपालिका थुमीका भीमबहादुर गुरुङ प्रथम हुनु भएको थियो । उहाँले निर्धारित ४२ किलो मिटर दूरी ३ घण्टा १७ मिनेट २ सेकेण्डमा दूरी पार गर्नु भएको थियो । द्रव्य शाहले नेपाल एकीकरण सुरु गरेको उद्गमस्थल लिगलिगकोटदेखि पृथ्वीनारायण शाहको गोरखा दरबारसम्म दौडन पाउनु निकै खुसीको कुरा हो, विजेता भएपछि कुराकानी गर्दै नेपाली सेनाका अवकाश प्राप्त धावक गुरुङले भन्नुभयो ।

    ‘दौडेर राजा हुने परम्पराको थालनी भएको लिगलिगकोटबाट दौड गर्दा इतिहासको जगेर्ना हुन्छ, यो विश्वकै नौलो र ऐतिहासिक थियो’ पालुङटार नगरपालिकाका प्रमुख दिपक कंडेलले भन्नु भयो । वि सं १६१५ मा राजा द्रव्य शाहले दौड जितेर लिगलिगमा शासन गरेको इतिहास छ । गोरखा राज्यको सिमानालाई रक्षा गर्न भन्दै राजाले तत्कालिन समयमा सिरानचोककोट प्रयोग गरिएको थियो ।

    गुरुङले नगद एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनु भएको छ । ४६० वर्षअघि लिगलिग राज्यले गोरखा राज्यमाथि हमला गरेर युद्ध जितेको सम्झनामा बुधबार दौड आयोजना गरिएको हो । त्यसैगरी, रुकुमका दुर्गाराज बुढा दोस्रो हुनुभएको छ । उहाँले निर्धारित दूरी ३ घण्टा १७ मिनेट ४७ सेकेण्डमा पार गर्दै एक लाख पुरस्कार हात पार्नुभएको छ । यसैगरी, रणबम दल गणका सविन तामाङ ३ घण्टा ३० मिनेट २ सेकेण्डमा गोरखा दरबारमा पुगेर तेस्रो घोषित हुनुभएको छ । उहाँलाई ५० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी दस जना खेलाडीलाई नगद पुरस्कार वितरण गरिएको छ ।

    द्रब्यशाहलाई गोरखाको राजा बनाउने उ नीहरुले रणनिति बनाए । लिगलिगकोटको राजा भएपछि गोरखाको राजा बनाउन सहज हुने आकलन सहित उ नीहरुले वि.सं १६१५ वडादशैंको टीकाको दिनमा लिगलिगे दौडमा द्रब्यशाहलाई सहभागी गराई विजयी भए । लिगलिगे दौड जित्ने नै राजा बन्ने चलन अनुसार द्रब्यशाह लिगलिगकोटको राजा भए । त्यसपछि द्रव्यशाहले सिरानचोक, अजिरकोटलाई विजय गरेका थिए ।

    वि सं १६१६ भदौ २५ गते श्रीकृष्ण जन्माष्टमीका दिन गोरखा दरबार नियन्त्रणमा लिएपछि द्रव्य शाहले पस्लाङ चौतारामा राज्याभिषेक लिइएको इतिहास छ । यो म्याराथन नितान्त दौड मात्र होइन,सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भन्नुभयो, हामीले दौडमार्फत आजभन्दा ४६० वर्षअघिको इतिहासलाई सम्झेका छौँ । यसले इतिहासको जगेर्ना गर्नुका साथै पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुग्छ भन्ने अपेक्षा छ ।

    उक्त दौडलाई एकीकरण टे«लका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । ‘तत्कालीन राजा द्रव्य शाहले छोप्राकमा बसी सेनाका कमान्डर र राजगुरुलाई समेत राखी गोरखा दरबारमा हमला गर्ने योजना बनाएको इतिहासमा उल्लेख छ, अध्यक्ष गुरुङले भन्नुभयो, त्यसैले लिगलिगकोटबाट सिरानचोक हुँदै गोरखा दरबारसम्म राज्य विस्तार हुँदा प्रयोग भएका स्थानलाई समेटेर यो रुट बनाएका हौँ । सोही बेला नेपाली सेनाको जन्म भएकाले सोही अनुसार दौड आयोजनामा सेना पनि जोडिएको हो ।

    पृथ्वीनाराण शाहले १८२६ सालमा नेपालमा सर्वप्रथम श्रीनाथ गण गठन गर्नुभएको थियो । कालिबक्स गण, वज्रभैरव र गोरख गणसमेत सोही बखतमा गठन भएको इतिहासमा उल्लेख छ । ऐतिहासिक स्थलहरूलाई जोड्दै खेल पर्यटन विकास गराउने उद्देश्यका साथ सेना र हामी एकैठाउँमा उभिएका हौँ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भन्नुभयो, यसले नेपालको खेलकुद र पर्यटन दुवैलाई फाइदा पुग्छ भन्ने हाम्रो अपेक्षा छ ।

    दौडमा सहभागी भएर १० औं स्थान सम्म हुनेलाई समेत नगद पुरस्कारको ब्यवस्था गरिएको थियो ।

    गोरखा नगरपालिकाका मेयर राजन राज पन्तको अध्यक्षतामा भएको लिगलिगकोट – सिरानचोक कोट – गोरखा दरबार खुला म्याराथुन दौड २०७६ को समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, पालुङटार नगरपालिकाका मेयर ई दीपक बाबु कडेल, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ, प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, नेपाली सेनाको तीन नं बाहिनीका पृतनापति सहायक रथी सागर थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तब्य राख्नु भएको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here