April 28, 2024
पर्यटन

पर्यटक आउन थालेपछि मानुङकोट फर्किँदै स्थानीय

डुम्रे (तनहुँ), शुक्रबार, २० पौष २०८० । तनहुँका अधिकांश पर्यटकीयस्थलको प्रवद्र्धन हुन सकेको छैन । केही पर्यटकीयस्थलको भने प्रवद्र्धन हुने क्रममा छ । बन्दीपुर बढी प्रवद्र्धन भएको पर्यटकीयस्थल हो । पछिल्लो समय व्यास नगरपालिका–५ मानुङकोट अत्यधिक चर्चामा छ । यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदयले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ ।

घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ । यससँगै उहाँबाट हिमशृङ्खला पनि सुन्दर देखिने गर्दछन् । यही हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्दरता हेर्न पर्यटक लालयीत हुने गर्दछन् । यी कुहिरो, हिमशृङ्खला र सूर्योदय मनोरम दृश्यले पर्यटक आकर्षित हुने गरेका छन् । मानुङकोटबाट धौलागिरि, माछापुच्छे«, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको लोभलाग्दो दृश्यले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ ।

विगतमा पानीको अभावले यस वरपरका बासिन्दा अन्यत्र बसाइँसराइ गर्न पुगेका थिए । पछिल्लो समय पर्यटकीय चहलपहल बढेसँगै उनीहरु आफ्नो पुख्र्यौली गाउँ फर्किन थालेका छन् । पर्यटककै कारण यहाँका स्थानीय गाउँ फर्किंन थालेका हुन् । तर पानीको समस्या भने यहाँ विगतको जस्तै कायमै छ । पर्यटकीय क्षेत्रका रुपमा मनुङकोटको विकास हुँदै गएपछि यहाँका स्थानीयवासी होटल व्यवसायमा संलग्न हुन थालेका हुन् ।

मानुङकोट पर्यटकीयस्थल बनेपछि यहाँ बस्ती बढ्ने क्रममा छ । पानीको अभावले रित्तिएको बस्ती अहिले पर्यटकीयस्थलका रुपमा विकास भएसँगै स्थानीय फर्किंन थालेका हुन् । विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँसरी मानुङकोटको फेदीतर्फ झरेका थिए । पानी सहजै पाउने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि फर्किन थालेका हुन् । पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गएको छ । यहाँ पर्यटकको आवतजावत हुन थालेपछि गाउँले फर्किंन थालेका स्थानीय ६७ वर्षीय पद्मबहादुर थापामगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खानेपानीको अभावले यहाँबाट धेरैले बसाइँ सरेका थिए । अहिले विस्तारै फर्किन थालेका छन् । तर, पानीको समस्या भने उस्तै छ ।”

पहिले स्थानीयले खेतीपाती गरे पनि अहिले व्यवसाय फेरिएको थापामगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पानी आउँछ की भनेर आश गरी बसेका छन् । तर, अहिलेसम्म समस्या समाधान भएको छैन । नगरपालिकाले ट्याङ्करमा पानी ल्याएर दिन्छ । किनेर नै खाइरहेका छौँ ।” उहाँका अनुसार पानीको आशले नै यहाँ स्थानीयले व्यवसाय गर्न थालेका छन् ।

थापामगर भन्नुहुन्छ, “ट्याङ्करको पानीले कति पुग्छ ? मेरो घरका त दुई घण्टा लगाएर अझै पनि खानेपानी लिन पधेँरामा पुग्छन् । पानी लिन आवतजावत गर्दा दुई घण्टा लाग्छ । भारी बोकेर डाँडामा आउने हो कहाँ सजिलो छ र ? गाईबस्तु अलिअलि पालिएका छन् । यसका लागि आकाशे पानी जम्मा गगर्ने गरेका छौँ ।”

मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल व्यवशाय गर्र्दै आउनुभएकी जितुमाया बस्याल पानीको अभावमै व्यवसाय सञ्चालन गर्न सकस भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धारा नभएकाले ट्याङ्करमा ल्याइएको पानी र मिनरलवाटर किनेर व्यवसाय चलाउँदै आएका छौँ । यहाँ होटल व्यवसाय फस्टाउँदै गए पनि पानीको अभाव उस्तै छ ।”

यहाँ पानीको समस्या समाधान गर्न सकिए अझै पर्यटक बढ्ने बस्यालको अनुमान छ । उहाँ भन्नुहुन्छ, “बाटो सजिलो भएको छ । ठूला गाडी नचले पनि सानाले चलेको छ । तर, पानीको समस्या भने हट्न सकेको छैन । हामी त होटल व्यवसायीलाई पानीको समस्याले झन गाह्रो बनाएको छ ।” धारा नहुँदा खानेपानीदेखि शौचालयमा राख्नसमेत किनेको पानी चलाउनुपर्दा व्यवसायी मारमा परेको उहाँको गुनासो छ । बस्याल भन्नुहुन्छ, “कहिलेकहीँ त पाहुनालाई हात धुने पानीसमेत नहुने अवस्था छ । केहीले त हात धुनसमेत नपाएको अवस्था छ ।” धारामा पानी आए व्यवसायीसँगै यहाँ आउने पर्यटकले सास्ती र महँगी झेल्न नपर्ने उहाँको भनाइ छ ।

स्थानीय पद्मबहादुर थापा भन्नुहुन्छ, “पहिले मानङकोटमा सुन्तलाखेती पर्याप्त हुने गरेकामा अहिले तल्लो क्षेत्रमा मात्रै हुने गरेको छ । पानीको अभाव र रोग देखिएर नै यहाँको सुन्तलाखेती मासियो । तर, सुन्तलाखेती भए पनि स्वादिलो छैन र सुन्तलाको दाना पनि साना छन् । खै के भएको हो यस्तो ?” यहाँको सुन्तलाले राम्रै बजार पाउने गरेको उहाँले विगत सुनाउनुभयो ।

पद्मबहादुर भन्नुहुन्छ, “यहाँ पहिलाभन्दा बढी चर्को घाम लाग्छ । त्यहीँमाथि पानीको समस्या छ । केको खेतीपाती हुन्छ र ? सबै चिज किनेर खाने हो । आकाशे पानीको भर पर्नुपर्ने ठाउँ हो । त्यहीमाथि समयमा पानी पर्दैन अनि केको खेती हुनु !” विगतमा यहाँ करिब ५०÷६० परिवार बस्दै आएकामा पानीको समस्याले च्यापेपछि उनीहरु मानुङकोटको फेदी अलैचे, पाटनतर्फ झरेका हुन् । मानुङकोटमा केही सुविधा सम्पन्न होटल बन्ने क्रममा छन् । सुविधा सम्पन्न होटल बने पनि पानीको समस्याले सकस हुने व्यवसायी बताउँछन् ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न लागिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षदेखि पर्यटकीयस्थल मानुङकोटको खानेपानी समस्याको समधान गर्ने गरी काम गर्न लागेको जानकारी दिनुभयो । प्रमुख न्यौपानेले गण्डकी प्रदेश सरकारले मानुङकोटको खानेपानी समस्या समाधानका लागि चालु आवमा रु दुई करोड विनियोजन गरेको बताउनुभयो । बजेट विनियोजन भइसकेकाले ठेक्का प्रक्रिया अघि बढाइसकिएको छ ।

प्रमुख न्यौपानेले भन्नुभयो, “यहाँको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले गत वर्ष रु दुई करोड बजेट विनियोजन गरे पनि काम गर्न नसक्दा फ्रिज गएको थियो । गत वर्ष पानीको मुहानको स्रोत खोजी तथा मिलाउँदा समयमा काम गर्न नसक्दा रकम फिर्ता गयो । खानेपानीको योजना विशेष योजना हो । बजेटअनुसार बोलपत्र आह्वान गरिन्छ । बजेट घोषणा गरे पनि यहाँ आइनपुग्दा योजना निर्माणमा समस्या भएको थियो । अहिले आएको छ र कार्यान्वयनको प्रक्रियामा गएका छौँ ।” बोरिङ गरी पानी मानुङकोटवासीको घरमा पु¥याउने नगरपालिकाको लक्ष्य छ ।

फोहरमैलाका डङ्गुर

मानुङकोट पर्यटकीयस्थलका रुपमा विकास भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यहाँ आउने आन्तरिक पर्यटकले खानेपानी तथा पेयपदार्थको प्लाष्टिकका बोतल, प्लाष्टिकजन्य फोहरमैला बढ्दै गएको छ । यहाँ घुम्न आउने पर्यटकले जथाभावी फोहरमैला फ्याँकिदिँदा चुनौती बढेको छ । मानुङकोटका विभिन्न स्थानमा फोहरमैलाको व्यवस्थापनका लागि डस्टविन राखिएका छन् । तर फोहर यत्रतत्र फाल्ने गरिएको पाइएको छ ।

फोहरमैला व्यवस्थापनका लागि रोट¥याक्ट क्लब, लायन्स क्लब, लियो क्लबले सरसफाइ गरे पनि व्यवस्थित हुने सकेको छैन । प्लाष्टिकजन्य फोहरमैला केही स्थानमा जलाउने गरिएको छ । धुँवाले प्रदुषण बढेको छ । दुई÷तीन दिनको फरकमा यहाँ नगरपालिकाले फोहरमैला उठाउने गरेको छ । तर, पनि फोहरको समस्या पूर्णरुपमा समाधान हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *