Tuesday, February 10, 2026
10.1 C
Kathmandu
spot_img
Homeसंस्कृतिहिन्दू–मुस्लिमको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला दाउन्ने डाँडामा शुरू

हिन्दू–मुस्लिमको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला दाउन्ने डाँडामा शुरू

spot_img

मध्यविन्दु, सोमबार, ४ फागुन २०८१ । हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला आजदेखि शुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्तपूर्व)को विनयी त्रिवेणी गाउँपालिका–६ स्थित दाउन्ने डाँडामा शुरु भएको मेला यही फागुन १४ गतेसम्म सञ्चालन हुने छ ।

मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ हिन्दू र मुस्लिम भक्तजन आएका छन् । गत शुक्रबारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीड लागेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।

पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दूहरूको पर्व शिवरात्रि सुरु हुनुभन्दा एक हप्ताअघिदेखि ठूलो मेला लाग्ने गर्छ । महाशिवरात्रिसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका लाखौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । मेला व्यवस्थित गर्न मेला क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाइएको अध्यक्ष गिरीले जानकारी दिए ।

“मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिकस्थल हो । विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल भए पनि त्यहाँ हिन्दू, बौद्ध धर्मावलम्बी सबैको आगमन हुने गरेको छ”, उनले भने, “यो स्थानको प्रवेशद्वार नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता गाउँपालिका–२ महलबारीमा र मुख्य समाधिस्थल भने नवलपरासी (बर्दघाट सुस्तपूर्व) को विनयी त्रिवेणी गाउँपालिका मदारी डाँडामा रहेको छ । मदारीडाँडा पैदल यात्रामार्फत पुग्न सकिन्छ ।”

मेलामा महलबारी मस्जिदका मठाधिस अमिरुल्लाह अन्सारी परम्परादेखि मदारी डाँडाको गद्दीमा आसिन हुने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन शाहले बताए । “गत वर्ष पनि १० लाख भक्तजनले मेला अवलोकन गरेका थिए, यस वर्ष पनि सोही अनुपातमा भक्तजन आउने अनुमान गरिएको छ”, अध्यक्ष शाहले भने ।

मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फूलबारीपार्क क्षेत्रमा पनि तपस्या गरेको इतिहास पाइन्छ । यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वास छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले सूचना जारी गर्दै मेला लाग्ने क्षेत्र वरपर मदिरा बिक्रीमा रोक लगाएको छ । विगतका वर्षहरूमा मदिरा सेवनकै कारण विभिन्न घटना भएकाले यस वर्ष मेला अवधिभर मदिरा बिक्री नगर्न–नगराउन सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए ।

उनले भने, “मेलाको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाको विपद् उद्धार टोली, मध्यवर्तीलगायत सुरक्षा संयन्त्र तैनाथ रहने छन् ।”

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img