काठमाडौँ, बुधबार, ७ साउन २०८२ । महिलाको पहिचान, श्रमको सम्मान र महिलामाथि हुने विभेद तथा हिंसाको अन्त्यका लागि सञ्चारमाध्यमको भूमिकालाई अझ सशक्त बनाउन जोड दिइएको छ ।
तरंगिनी महिला अधिकार प्रशिक्षण केन्द्र (तरंगिनी फाउन्डेसन) की संयोजक बबिता बरालले मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूसँग संवाद गर्दै महिलाका सवालमा सञ्चारले निभाउनुपर्ने जिम्मेवारीबारे विशेष जोड दिइन् ।
उनले फाउन्डेसनको गतिविधि, अभियान र विशेष गरी लैंगिक समानता, महिला सशक्तीकरण तथा सामाजिक न्यायका विषयमा संस्थाले उठाएका मुद्दाहरूको जानकारी दिँदै भनिन्, “महिलाको पहिचान, श्रमको सम्मान र उनीहरूमाथि हुने विभेद तथा हिंसा अन्त्य गर्न सञ्चारमाध्यममा अझ सशक्त कलम चल्न आवश्यक छ ।”
बरालका अनुसार तरङ्गीनी फाउन्डेसनले लामो समयदेखि महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको छ, जसमा श्रमिक महिला, घरेलु श्रमिक, किशोरी, महिला जनप्रतिनिधि लगायतका वर्गको सशक्तीकरणका अभियान प्राथमिकतामा छन् ।
उनले सञ्चारकर्मीलाई समाजमा परिवर्तन ल्याउने संवेदनशील शक्ति ठहर गर्दै महिलाका मुद्दालाई गहिरो रूपमा उठान गर्न र महिलाका विषयहरू मूलधारमै समाहित हुन जरुरी रहेको बताइन् ।
संयोजक बरालले संस्थाले मधेश प्रदेशको धनुषा, कोशी प्रदेशको उदयपुर लगायतका जिल्लामा महिला तथा किशोरीहरूको क्षमता विकासका कार्यक्रम, बालविवाह विरुद्धका अभियान, महिला जनप्रतिनिधिको क्षमता विकासका कार्यक्रम, रुकुम जिल्लामा हुने तानी विवाह विरुद्धका कार्यक्रम गरिरहेको जानकारी दिइन् । उनका अनुसार संस्थाले काभ्रेको पनौती नगरपालिकामा कृषि श्रमिक महिला तथा काठमाडौँको बुढानिलकण्ठ, कागेश्वरी मनोहरा, गोकर्णेश्वर लगायतका नगरपालिकामा घरेलु श्रमिक महिलाका लागि कार्यक्रम गरिरहेको छ ।
श्रमिक महिलाको अभिलेख राख्ने, उनीहरूको पारिश्रमिक र सुरक्षा जस्ता विभिन्न विषयमा तरङ्गीनीले काम गरिरहेको उनले बताइन् । संघीयतापछि तीनै तहको सरकारसँग समन्वय गरी काम गरिरहेको फाउन्डेसनले जनाएको छ ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले महिलाका सवालमा पत्रकारिता गर्दा भोग्नुपरेका चुनौती, संस्थागत संरचनामा देखिने लैंगिक असमानता र सम्पादकीय तहको संवेदनशीलताका कमीबारे आफ्ना अनुभवहरू पनि आदानप्रदान गरे । उनीहरूले जबसम्म सञ्चारमाध्यम स्वयं महिला–मैत्री र लैंगिक संवेदनशील बन्दैनन्, तबसम्म महिलाका मुद्दाले मूलधारको स्थान पाउन गाह्रो हुने धारणा राखेका थिए ।
वि.सं. २०७३ सालमा स्थापना भएको तरङ्गीनी महिला अधिकार प्रशिक्षण केन्द्र (तरङ्गीनी फाउन्डेसन) ले महिला अधिकारको प्रवद्र्धनमा काम गर्दै आएको छ । संस्कृत शब्द ‘तरङ्गीनी’ को अर्थ छाल वा लहर हो, जसले महिलावादी आन्दोलनमा संलग्न महिलाहरूबीचको सुमधुर सम्बन्धलाई प्रतिनिधित्व गर्छ । संस्थाले प्रारम्भदेखि नै महिलाको श्रम, शरीर र पहिचानसम्बन्धी मुद्दामा निरन्तर वकालत गर्दै आएको छ ।
महिलाको श्रमलाई मूल्यांकन नगरी, शरीरमाथिको अधिकार सुनिश्चित नगरी र समान पहिचान स्थापित नगरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न नसकिने संस्थाको बुझाइ छ ।
स्व-हेरचाह, महिलावादी सल्लाह र दस्तावेजीकरण
तरङ्गीनी फाउन्डेसनले महिला मानव अधिकार रक्षकहरूका लागि स्व–हेरचाह तालिम सञ्चालन गर्दै आएको छ । यस तालिममार्फत उनीहरूलाई मानसिक र भावनात्मक सशक्तीकरणका लागि आवश्यक सीप, ज्ञान र मनोवृत्ति विकास गरिन्छ । संस्थाले महिलावादी दृष्टिकोणमा आधारित मनोसामाजिक परामर्श र सशक्त परामर्शदाताको विकासमा समेत योगदान पुर्याउँदै आएको छ ।
त्यस्तै, महिलावादी सल्लाहमार्फत सहभागीहरूलाई महिलावादका मूल्य र दृष्टिकोण बुझाउने कार्य पनि निरन्तर चलिरहेको छ । समसामयिक आवश्यकताअनुसार महिलामैत्री प्रणाली निर्माणका लागि संस्थाले यस्तो खालको सल्लाह कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ ।
फाउन्डेसनले विगतका महिलावादी आन्दोलनहरूको दस्तावेजीकरणलाई पनि विशेष महत्त्व दिएको छ । महिलाहरूका संघर्षका कथा, चुनौती र सफलताहरूलाई अभिलेख गरेर आगामी पुस्ताका लागि मार्ग निर्देशन दिने कार्यमा पनि संस्था सक्रिय छ । यस्ता दस्ताबेजहरू आन्दोलनको प्रमाणिकता र निरन्तरताका लागि उपयोगी ठानिन्छन् ।
माहुर संकल्प र महिला आन्दोलनको राजनीतिकरण
तरङ्गीनी फाउन्डेसनले माहुर संकल्प अन्तर्गत महिला मानव अधिकार रक्षकहरूको व्यक्तिगत र संस्थागत दस्तावेजीकरणलाई प्राथमिकता दिएको छ । संस्थाले अदृश्य मुद्दालाई दृश्य बनाउँदै नीति निर्माण तहसम्म महिला अभियन्ताहरूका अनुभव र संघर्षलाई स्थापित गर्न चाहेको छ ।
यौन र प्रजनन स्वास्थ्यका क्षेत्रमा महिलाको हक सुनिश्चित गर्न, हानिकारक परम्परागत अभ्यासविरुद्ध आवाज उठाउँदै समाज रूपान्तरण गर्न आवश्यक महिलावादी मार्गदर्शन सत्रहरू सञ्चालन गर्दै आएको छ । महिलावादको सार बुझी हस्तक्षेपहरू परिवर्तनमुखी बनाउने उद्देश्य बोकेको फाउन्डेसनले महिला आन्दोलनको राजनीतिकरणका पक्षमा स्पष्ट अडान राखेको छ ।
एकीकृत सुरक्षा र सामाजिक प्रतिनिधित्व
महिलाको सुरक्षालाई बहु आयामिक रूपमा हेरिनुपर्ने आवश्यकतालाई समेत तरङ्गीनी फाउन्डेसनले प्राथमिकतामा राखेको छ । संस्थाका अनुसार महिला सुरक्षाको विषय केवल बाहिरी सुरक्षा मात्र होइन, घरभित्रको सुरक्षा र डिजिटल स्पेसमा हुने हिंसासम्म समेटिनुपर्छ ।
महिला हिंसाविरुद्धको जनचेतनामूलक अभियानबाट सुरु भएको महिलावादी आन्दोलन अब सामाजिक-राजनीतिक प्रतिनिधित्वसम्मको बहसमा प्रवेश गरिसकेको भए पनि सुरक्षाको सवाल अझै समाधान हुन नसकेको निष्कर्ष संस्थाले निकालेको छ ।
ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगको हलमा भएको कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध करिब २० जना पत्रकारहरूको सहभागिता रहेको थियो ।









