काठमाडौँ, आइतबार, २५ साउन २०८२ । चलचित्र ‘नालापानी’ को विशेष प्रदर्शनी गरिएको छ । रिमेश अधिकारीद्वारा निर्देशन तथा निर्माण गरिएको यो चलचित्रको शुक्रबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको हलमा विशेष प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा संघीय संसद्का सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वसभामुख अग्नि सापकोटा, सांसदहरू, कलाकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो ।
चलचित्र हेरेपछि उहाँहरूले इतिहासलाई जीवन्त ढंगले प्रस्तुत गरेको बताउनुभयो । यस्तै, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र ‘नालापानी’ राष्ट्र प्रेमलाई झकझक्याउन सघाउने बनेको बताउनुभयो । त्यस्तै अभिनेता जितु नेपालले ‘नालापानी’ नेपाली इतिहासको गौरवलाई देखाउने उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै सबैले हेर्नुपर्ने चलचित्र भएको धारणा राख्नुभयो । चलचित्र केवल ऐतिहासिक घटनाको पुनर्निर्माणमात्र नभई राष्ट्र प्रेम, सहादत र एकताको सन्देश बोकेको सशक्त श्रव्य दृश्य अभिव्यक्ति रहेको निर्देशक अधिकारीको भनाइ छ ।
विशेष प्रदर्शनीमा सहभागी दर्शकहरूले चलचित्रको विषयवस्तु, निर्देशन, छायांकन र कलाकारको अभिनयको प्रशंसा गरेका थिए । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजकातर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई कथा बनाएर निर्माण भएको चलचित्र हो ‘नालापानी’ ।
रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहेको यो चलचित्र बिजिबि इन्टरटेनमेन्ट र गंगानारायण फिल्मस्ले मिलेर बनाएको हो । देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, सरिता राजोपाध्याय, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बालकलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन लगायतको अभिनय चलचित्रमा रहेको छ ।
प्राडा.धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर चलचित्र निर्माण भएको हो ।









