काठमाडौं, बिहीबार, २९ साउन २०८२ । आयातित फुड सप्लिमेन्ट भन्सार नाकाबाटै फिर्ता गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वीरगञ्ज भन्सार नाकाबाट भित्र्याउन लागिएको ठूलो परिमाणको आहारपूरक खाद्य पदार्थ (फुड सप्लिमेन्ट) फिर्ता गरेको हो ।
विभागमा दर्ता गरिएको विवरणभन्दा फरक गुणस्तरका उत्पादन वीरगञ्जको ‘योर देल्ही वान ट्रेडर्स’ले भारतबाट आयातका लागि ल्याएका ७३.८ केजी फुड सप्लिमेन्ट फिर्ता गरिएको विभागले जनाएको छ । फिर्ता गरिएका वस्तुमा १४.४ केजी न्युट्रास्युटिकल्स जिएनसी मरिन कोलाजेन-१००, ४३.२ केजी न्युट्रास्युटिकल्स जिएनसी मरिन कोलाजेन-२०० ग्राम र १६.२ केजी न्युट्रास्युटिकल्स जिएनसी फिस ओयल रहेका विभागद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय वीरगञ्जले निरीक्षण गर्दा उक्त उत्पादनहरूमा उल्लेखित विवरण, विभागमा उत्पादन दर्ता गर्दा पेश गरिएको ‘एक्टिभ इन्ग्रेडिएन्ट्स’को विवरणभन्दा फरक पाइएको थियो ।
कैफियत भेटिएपछि ती उत्पादन आयात गर्न नमिल्ने भन्दै वीरगञ्ज भन्सार कार्यालयलाई गत साउन २० गते नै जानकारी गराइएको थियो । विभागले सम्बन्धित व्यवसायीलाई दर्ता गरिएकाबाहेक अन्य फुड सप्लिमेन्ट आयात तथा बिक्रीवितरण नगर्न र नगराउनसमेत सचेत गराएको छ ।









