Friday, March 13, 2026
23.1 C
Kathmandu
spot_img
Homeअर्थ व्यवसायलुम्बिनी प्रदेशमान नयाँ डिपोका लागि डिपिआर तयार

लुम्बिनी प्रदेशमान नयाँ डिपोका लागि डिपिआर तयार

spot_img

काठमाडौँ, बिहीबार, ५ भाद्र २०८२ । नेपाल आयल निगमले रूपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब लागतमा आधुनिक सुविधासम्पन्न नयाँ इन्धन डिपो निर्माण गर्ने भएको छ ।

कुल पाँच अर्ब ७९ करोड ३० लाख ६४ हजार रुपैयाँ लागतमा उक्त डिपो निर्माणका लागि काठमाडौं विश्वविद्यालय(केयु) कन्सल्टेन्सी सेवा विभागले बुधबार निगमलाई डिपोको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) हस्तान्तरण गरेको छ । डिपोमा कुल १८ हजार छ सय ८८ किलोलिटर इन्धन भण्डारण गर्न ट्यांक निर्माण गरिने निगमका भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिनुभयो ।

जसअन्तर्गत डिजेल भण्डारण गर्न १३ हजार पाँच सय किलोलिटर, पेट्रोलका लागि चार हजार नौ सय ६० किलोलिटर र मट्टितेलका लागि दुर्ई सय २८ किलोलिटर क्षमताका भण्डारण ट्यांक निर्माण हुनेछन् ।

डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताका दुर्ईवटा पानी ट्यांकी पनि निर्माण हुनेछन् । जसमा कुल चार हजार दुई सय किलोलिटर पानी भण्डारण हुनेछ । इन्धन लोडिङ सेडमा आठवटा ‘वे’ र अनलोडिङ सेडमा पनि आठवटा ‘वे’ निर्माण हुनेछन् । पूर्ण रूपले अटोमेसनमा आधारित डिपोमा भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण, विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृहलगायत संरचना निर्माण गरिने बताइएको छ । आगामी असोजमा बोलपत्र आह्वान गरी मंसिरबाट निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । डिपिआर हस्तान्तरण कार्यक्रममा भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख यादवले हालको भलबारी डिपो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको नरहेको तथा भण्डारण क्षमता विस्तार गर्न ठाउँ साघुँरो भएकाले रोहिणी क्षेत्रमा डिपो स्थानान्तरण गर्न लागिएको जानकारी दिनुभयो ।

केयु कन्सल्टेन्सी सेवा विभागका प्रमुख डा. विवेक बरालले पेट्रोलियम पूर्वाधार डिजाइन र निर्माण गर्न नेपाली इञ्जिनियरहरू सक्षम रहेको बताउनुभयो भने केयुका पेट्रोलियम विज्ञ एवं निगमका पूर्वकार्यकारी निर्देशक सुशील भट्टराईले भलबारीमै भण्डारण क्षमता विस्तार गर्ने अवस्था नरहेकाले उक्त डिपो स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँका अनुसार हालको भलबारीमा दुर्ई/तीन दिनको माग धान्ने भण्डारण छ । हाल अमलेखगञ्जबाट भैरहवा इन्धन ढुवानी हुँदै आएको छ, केही कारणले राजमार्ग अवरुद्ध भएको अवस्थामा लुम्बिनी प्रदेशको आपूर्ति शृंखलामा प्रभाव पर्न सक्ने भएकाले भण्डारण क्षमता विस्तार गर्न नयाँ डिपो निर्माण गर्नुपरेको हो ।’ निगमले रूपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको जग्गामा नयाँ इन्धन डिपो निर्माणका लागि डिपिआर तयार गर्न गत मंसिरमा केयुसँग सम्झौता गरेको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img