Wednesday, March 4, 2026
22.1 C
Kathmandu
spot_img
Homeबिशेषभियतनामबाट नेपालमा उच्चस्तरीय भ्रमण, को हुन् उपराष्ट्रपति सुआन ?

भियतनामबाट नेपालमा उच्चस्तरीय भ्रमण, को हुन् उपराष्ट्रपति सुआन ?

spot_img

काठमाडौँ, आइतबार, ८ भाद्र २०८२ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आइपुग्नु भएको छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा आउनुभएको हो । उपराष्ट्रपति सुआनलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए । उपराष्ट्रपति सुआनले आफ्नो सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गर्नुभएको थियो । भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उहाँका समकक्षी सुआनबीच आज (आइतबार) काठमाडौंमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति सुआनले नेपाल बसाईको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणको पहिलो दिन उपराष्ट्रपति सुआन र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाल भ्रमणका क्रममा काठमाडौं ओर्लेलगत्तै उपराष्ट्रपति सुआनले परराष्ट्रमन्त्री राणासँग मन्त्रालयमा औपचारिक भेटवार्ता गर्नुभएको हो । भेटवार्ताको क्रममा दुई देशको सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फर्किने भ्रमण तालिका छ ।

को हुन् उपराष्ट्रपति सुआन ?

परराष्ट्र मन्त्रालयका अनुसार सन् १९७५ मा नेपाल र भियतनाम दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयताकै भियतनामको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको भियतनामी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । ५५ वर्षीया सुआन भियतनामको १७औँ उपराष्ट्रपति हुन् । पूर्वशिक्षिका रहेकी सुआन सन् २०२१ मा उक्त पदमा निर्वाचित हुनुभएको थियो । सुआन सन् १९४५ पछि कै भियतनामको सबैभन्दा कान्छी उपराष्ट्रपतिसमेत हुनुहुन्छ ।

उहाँको जन्म ८ जनवरी १९७० मा आन जियाङ प्रान्तको टिन्ह बिएनको थिई सन्मा भएको थियो । सन् १९९२ देखि १९९६ सम्म आन जियाङ प्रान्तको लङ जुयेनको एक उच्च माध्यमिक विद्यालयमा सुआन शिक्षिका हुनुहुन्थ्यो । सन् १९९५ मा उहाँ कम्युनिष्ट पार्टी अफ भियतनामबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । जनवरी २०१६ मा उहाँ १२औँ पार्टी केन्द्रीय समितिको सदस्यमा निर्वाचित हुनुभएको थियो । ६ अप्रिल २०२१ मा भियतनामको राष्ट्रिय सभाले बैठकमा उपस्थित ४४९ प्रतिनिधिहरूमध्ये ४४७ को समर्थनमा सुआन उपराष्ट्रपति निर्वाचित हुनुभएको हो ।

जनवरी १८, २०२३ मा न्गुयेन जुआन फुक राष्ट्रपतिबाट हटेपछि सुआन संविधानअनुसार कार्यवाहक राष्ट्रपति बन्नुभएको हो । तर, पछि मार्च २, २०२३ मा भो भान थुङ राष्ट्रपति निर्वाचित भएपछि सुआनले कार्यवाहक राष्ट्रपतिको पदबाट राजीनामा दिई उपराष्ट्रपतिको जिम्मेवारीमा फर्किनुभएको थियो । सन् २०२४ मा पनि उहाँले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नुभएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img