Tuesday, February 10, 2026
8.1 C
Kathmandu
spot_img
Homeसंस्कृतिपशुपतिमा बिहानैदेखि दर्शनार्थीको भिड

पशुपतिमा बिहानैदेखि दर्शनार्थीको भिड

spot_img

काठमाडौँ, मंगलबार, १० भाद्र २०८२ । हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न महिला श्रद्धालुहरूको भीड लागेको छ ।

यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । पशुपतिमा भेला भएका महिलाहरूले शिवजीको दर्शन गर्नुका साथै नाचगान गर्दै फोटो–भिडियो खिच्दै गरेका देखिन्छन् ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

सोही मान्यताअनुसार वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीले हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।

साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको परेकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ, तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले सुनाए । ‘निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ’, उनले भने, ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ ।’

प्राडा रामचन्द्र गौतमले स्वास्थ्य ठीक नहुनेले गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने जानकारी दिए । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्वप्रमुखसमेत रहेका उनले बताए ।

‘अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरूले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ’, प्राडा गौतमले भने ।

नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा हाल केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्त्व छ ।

महिला-पुरुष दुवैले लिनुपर्छ हरितालिका (तीज) व्रत

धर्मशास्त्रीय रूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि व्रत बस्ने गरेको बुझाइ छ ।

व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराइ बताउँछन्

व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रातोयराज नेपालले सुनाए ।

‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रत नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने पनि उनले बताए । जसको अर्थ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो भन्ने हुन्छ ।

कालान्तरमा पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घरलगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् । यसैले पनि धेरै जसो महिलाले नै यो व्रत गर्ने गरेका देखिन्छन् ।

दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने

यो व्रत सक्नेले निराहार बस्ने भएकाले सोमबार व्रतालुले मीठा मीठा परिकार दरका रूपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।

महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् ।

पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृति बनाइरहेको धेरैले बताउने गरेका छन् ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीको जोड छ । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा यसका लागि तोकिएको छ ।

सोमबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img