काठमाडौँ, बुधबार, ११ भाद्र २०८२ । काठमाडौँमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित “सङ्घर्षमा सिरानचोक” पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो पुस्तकको लोकार्पण गर्नुभयो । प्रत्येक पालिका र वडा स्तरसम्मै भएका त्याग, तपस्या र बलिदानका ऐतिहासिक गाथा सङ्कलन गरेर एउटा ठुलो राष्ट्रिय कृतिमा परिणत गर्न सकिने उहाँले बताउनु भयो । प्रचण्डले ७५३ वटै पालिकामा जनताको सङ्घर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्नेमा समेत जोड दिनुभयो । प्रचण्डले पुस्तक ‘संघर्षमा सिरानचोक’को इतिहास मात्र नभई देशभरका विद्रोह र त्याग–तपस्याको सामूहिक अभिलेखका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो ।
पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले “यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, सहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो । सङ्ख्याको तागत विवेकभन्दा ठुलो हुने प्रणालीले हाम्रो सङ्घर्षलाई कठिन बनाएको छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले यस अघि प्रज्ञा प्रतिष्ठानमा माओवादी जनयुद्ध सँग सम्बन्धित कृतिहरूलाई गरिएको विभेद पछिल्लो समय सच्चिएको उल्लेख गर्दै माओवादी जनयुद्धलाई अछुतको रूपमा होइन, इतिहासको महत्त्वपूर्ण अङ्गका रूपमा मान्यता दिने प्रयास सुरु भएकोमा धन्यवाद ।’ ज्ञापन गर्नुभयो ।
पुस्तक ‘संघर्षमा सिरानचोक’ मा गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाबाट जनयुद्धका क्रममा भएका सहिद, बेपत्ता, घाइते, कारागार जीवन र वाम आन्दोलनसँग सम्बन्धित ऐतिहासिक घटनाक्रमलाई समेटिएको लेखक पुडासैनीले बताउनु भयो ।
पुस्तकको समीक्षा लेखनाथ न्यौपाने, अधिवक्ता मोहन पोखरेलले गर्नु भएको थियो ।
पूर्व उपप्रधानमन्त्री एवम् नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, नेपाल प्रज्ञा-प्रतिष्ठाका कुलपति भूपाल राई, पूर्व मन्त्री छम बहादुर गुरुङले शुभकामना मन्तब्य दिनु भएको थियो ।









