काठमाडौँ, आइतबार, २९ भाद्र २०८२ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीको पदभार ग्रहणको तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने गरी पदभार ग्रहणको तयारी भएको छ। प्रधानमन्त्री कार्यालय रहेको भवनमा जेन जेड आन्दोलनकारीले आगजनी गरेपछि क्षति भएको छ । त्यसैले गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाइएको छ ।
पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की गत शुक्रवार नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएको थिइन् । शुक्रवार नै उनले पदभार ग्रहण गर्ने तयारी गरेकी थिइन्, तर राति अबेर मात्रै शपथ भएका कारण रोकिएको थियो । शनिवार भने प्रधानमन्त्री कार्कीले जेन जेड आन्दोलनमा घाइते भएकाहरूलाई अस्पतालमै पुगेर भेटेकी थिइन् ।









