ललितपुर, बुधबार, ३ मङ्सिर २०८२ । ललितपुरमा शान्ति सुरक्षा सम्बन्धिअन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १४ वडा कार्यालयको सभाहलमा प्रहरी बृत्त सातदोबाटो, प्रहरी प्रभाग बाडेगाउँ, सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल र गोदावरी नगरपालिका वडा नं. १४ को संयुक्त आयोजनामा “शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको हो ।

गोदावरी नगरपालिका वडा नं १४ का वडा अध्यक्ष निरोज बज्रचार्यको सभाअध्यक्षतामा, प्रहरी बृत्त सातदोबाटोका प्रमुख प्र.ना.उ. पुर्णिमा कुमारी चन्दको प्रमुख अतिथ्यतामा र प्रहरी प्रभाग बाडेगाउका प्रमुख प्र.नि. बिक्रम के.सी.को विशेष आतिथ्यतामा “शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया” (नागरिक सुनुवाई) कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि प्रहरी बृत्त सातदोबाटोका प्रमुख प्र.ना.उ. पुर्णिमा कुमारी चन्दले अपराध न्यूनीकरण र प्रहरीको कार्यसम्पादन सुधारका लागि समुदायसँगको समन्वय अत्यावश्यक रहेको बताउनु भयो । उहाँले समुदायबाट प्राप्त सूचनालाई प्राथमिकताका साथ कार्यान्वयन गरेर समाजमा शान्ति सुरक्षा मजबुत बनाउने प्रयास भइरहेको जानकारी गराउनु भयो । साथै, उहाँले पालिकासंग समन्वय गरेर विद्यालय तहमा नैतिक शिक्षा समावेश गर्नुपर्ने र लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम संचालन गर्न जरुरी रहेको बताउनु भयो ।

त्यसैगरी, वडा अध्यक्ष निरोज बज्रचार्यले प्रहरी र वडाबीचको समन्वयले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नु भयो, भाद्र २४ गतेको जेनजी आन्दोलनले महानगरीय प्रहरी प्रभाग बाडेगाउ ध्वस्त भएको स्मरण गर्दै प्रहरी नभएको तत्कालिन समयमा आफै समाजमा टिम बनाएर शान्ति सुरक्षा दिदै हिडेको बताउनु भयो । समाजमा शान्ति सुरक्षा थप मजबुत बनाउनको लागि प्रहरी र वडाबासीले एक आपसमा सहयोग, सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
साथै, वडा अध्यक्ष निरोज बज्रचार्यले जेन-जी आन्दोलनको क्रममा पुर्ण रुपमा ध्वस्त भएको प्रहरी प्रभाग बाँडेगाउको भवन नयाँ स्वरुपमा छिटो भन्दा छिटो पुनर्निर्माण हुने बताउनु भयो । निर्माणका लागि गोदावरी नगरपालिकाबाट रु.१५ लाख, १४ नं वडा कार्यालयबाट रु. ८ लाख, १ नं वडा कार्यालय गोदामचौरबाट- रु. ३ लाख, २ नं वडा कार्यालय बिशंखुबाट रु.३ लाख, ३ नं वडा कार्यालय किटिनीबाट रु.३ लाख र ४ नं वडा कार्यालय बडिखेलबाट रु. ३ लाख बजेट बिनियोजन समेत गरिसकेको बताउनु भयो । विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट पनि नगद तथा जिन्सी सहयोग प्राप्त हुने क्रम जारी रहेको उहाँले बताउनु भयो ।

उपस्थित महानुभावहरूले शान्ति सुरक्षा, सडक सुरक्षा, लागुऔषध दुर्व्यसन नियन्त्रण, हरिसिद्दिदेखि गोदावरीसम्म मेन सडकमा सोलार बत्ति राख्नुपर्नेजस्ता विषयमा आफ्ना जिज्ञासा र गुनासाहरू राख्नु भएको थियो ।










