गोरखा, शनिबार, १३ मङ्सिर २०८२ । गोरखामा पृथ्वीनारायण गोल्डकप आयोजना हुने भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने यो प्रतियोगितामा ‘ए’ डिभिजनका ८ वटा क्लब सहभागी हुनेछ । ‘गोरखा जिल्लालाई खेल मार्फत चिनाउन र यहाँका खेल प्रतिभाको बिकास गर्ने उदेश्यले हामीले यो प्रतियोगिता गर्न लागेका हौं,’ अध्यक्ष प्रेम तमाङले भने,‘यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत मद्दत गर्ने विश्वास हाम्रो छ ।’
जिल्ला खेलुकद बिकास समितिको आयोजनामा हुने प्रतियोगितामा बिभागिय सहित ‘ए’ डिभिजनका ८ वटा क्लब सहभागी हुने बताइएको छ । खेल गोरखा नगरपालिका–१० छेवेटार खेलमैदानमा गर्ने आयोजकको तयारी छ । ‘गोल्डकप गर्नका लागि गण्डकी प्रदेश सरकारले १५ लाख बजेट बिनियोजन गरेको छ । गोरखा नगरपालिकाले पनि ५ लाख छुट्याइसकेको अबस्था छ,’ अध्यक्ष तमाङले भने,‘जिल्लाका अन्य स्थानीय तह, प्रदेशका सरोकारवाला निकाय धेरैले सहयोग गर्ने प्रतिवद्धता जनाइसक्नु भएको छ ।’
प्रतियोगिता सम्पन्न गर्नका लागि ८० लाख भन्दा बढि रकम लाग्ने अनुमान आयोजकको छ । उक्त रकम तीनै तहका सरकारी निकाय, खेलकुदका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसकारी संघसस्था, खेलप्रेमी, विज्ञापनदाता लगायतबाट संकलन गर्ने तयारी छ । ‘पृथ्वीनारायण गोल्डकप एउटा फुटबल प्रतियोगिता मात्र होइन्,’ उनले भने,‘यसले समग्र गोरखालाई फाइदा पुग्छ । त्यसैले सबैले सबै मिलेर सफल बनाउनु पर्छ ।’
प्रतियोगिताको मिति भने तय हुन बाँकी छ । यद्यपी पुसको अन्तिम साता तिर सुरु हुन सक्ने आयोजकले संकेत गरेको छ । ‘यो गोल्डकपको नाम नै हामीले राष्ट्रनिर्माता पृथ्वीनाराण शाहको नामबाट राखेका छौं । पुस २७ गते पृथ्वीजयन्ती पर्छ,’ उनले भने,‘त्यही समयलाई सरोफेरो पारेर प्रतियोगिता गर्ने तयारी छ । तर मिति भने औपचारिक रुपमा तय भइसकेको छैन् ।’
‘ए’ डिभिजनका राष्ट्रिय क्लबहरु नै खेल्न आउने भएकाले उनीहरुको खेल तालिका अनुसार अखिल नेपाल फुटबल संघ एन्फाको समन्वयमा मिति तय गर्ने उनले बताए । पुरस्कार राशीका बारेमा पनि आयोजकले खुलाइसकेको छैन् । अन्य गोल्डकप जस्तै पुरस्कार राशी पनि उच्च हुने आयोजकले दाबी गरेको छ । केही दिनमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा थप जानकारी दिने तमाङले बताए ।
राष्ट्रिय स्तरका खेलाडी सम्मिलित ‘ए’ डिभिजन क्लबहरु आएर जिल्लामै गोल्डकप खेल्नु स्वागतयोग्य कुरा भएको अखिल नेपाल फुटबल संघ एन्फा गोरखाका अध्यक्ष विशाल गुरुङले बताए । ‘यो असाध्यै राम्रो कुरा हो, खेलकुद बिकास समितिले स्वागत्योग्य काम गरेको छ,’ उनले भने,‘राष्ट्रिय खेलाडीका रोमाञ्चक खेल गोर्खाली फुटबल प्रेमीहरुले हेर्न पाउँदै हुनुहुन्छ । नजिकै बसेर खेल हेर्दा जिल्लाका खेलाडी भाईबहिनीहरुले पनि सिक्ने मौका पाउँछन् ।’
गोल्डकप, मोफसलमा हुने स्तरीय प्रतियोगिता मानिन्छ । यस्ता प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी सम्मिलित ‘ए’ डिभिजनका क्बलहरुले नै सहभागीता जनाउने गर्छन् । अहिले नेपालमा राष्ट्रिय लिग नभइरहेको अबस्थामा यस्ता प्रतियोगिताले खेलाडीलाई ब्यस्त राख्न मद्दत गर्नुका साथै खेलप्रेमीहरु मनोरञ्जन समेत प्रदान गर्ने गरेका छन् ।









