Monday, February 9, 2026
16.1 C
Kathmandu
spot_img
Homeसमाजलैङ्गिक हिंसाविरुद्ध प्रहरी अभियान

लैङ्गिक हिंसाविरुद्ध प्रहरी अभियान

spot_img

काठमाडौँ, सोमबार, १५ मङ्सिर २०८२ । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले महिला तथा बालबालिकामाथि भएका हिंसाविरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको छ ।

‘प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ, लैङ्गिक हिंसारहित प्रविधि, सुरक्षा र न्यायको विधि’ अभियानसाथ आइतबारदेखि प्रहरी प्रधान कार्यालयले देशभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरेको छ । अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै आइजिपी कार्कीले महिला तथा बालबालिकामाथि भइरहेका विभिन्न प्रकारका हिंसात्मक घटना र बढ्दो तथ्याङ्कबारे सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।

लैङ्गिक हिंसाका घटनाले व्यक्ति, परिवार र समाजलाई समेत असर पार्ने भएकाले न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउँदै आइजिपी कार्कीले भन्नुभयो, “लैङ्गिक हिंसाका बहुआयामिक रूप र बहुपक्षीय असर छन्, यसको रोकथामका लागि बहुआयामिक सहकार्य र समन्वय आवश्यक छ ।”

उहाँले लैङ्गिक हिंसा नियन्त्रणका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवं सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, रायसुझाव, सल्लाह तथा सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

सो अवसरमा कार्कीले आर्थिक वर्ष २०८१/८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै लैङ्गिक हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेका प्रहरी कर्मचारीलाई प्रशंसापत्र तथा नगद पुरस्कारसमेत प्रदान गर्नुभयो । उहाँले यो अभियानलाई केवल समय अवधिमा सीमित नरही वर्षभरि उत्तिकै ऊर्जासाथ सम्बन्धित सबै निकायले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रविधिको उच्चतम प्रयोग र कृत्रिम बौद्धिकता (एआई) को विकास र प्रविधि प्रयोगले हिंसा न्यूनीकरणमा थप चुनौती देखापरेको उल्लेख गर्दै नेपाल प्रहरीले लैङ्गिक समानता र महिला सुरक्षाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी विभिन्न सङ्घ संस्था, शैक्षिक संस्था, स्थानीय तह र महिला सञ्जालसँग समेत समन्वय गरी हिंसाविरुद्धका सचेतनामूलक कार्यक्रम सञ्चालनलाई निरन्तरता दिँदै आइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, युनिसेफ नेपाल चिफ अफ चाइल्ड प्रोटेक्सन लियोन मुवोनी, प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार बस्नेतले आफ्नो धारणा राख्नुभएको थियो ।

त्यसै गरी गृह मन्त्रालय, राष्ट्रिय महिला आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतका प्रतिनिधिले लैङ्गिक हिंसाका घटना र यसको निराकरणबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उच्च प्रहरी अधिकारीसहित देशभरका प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधि प्रत्यक्ष तथा भर्चुअल उपस्थिति थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img