गोरखा, सोमबार, १५ मङ्सिर २०८२ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा १५ सैय्या क्षमताको अस्पताल सञ्चालन हुने भएको छ । पालिकाले दीर्घकालीन स्वास्थ्य सेवालाई व्यवस्थित र व्यापक बनाउन लक्ष्यसहित अस्पतालको पूर्वाधार निर्माण पूरा गरी अब जनशक्ति व्यवस्थापनमा केन्द्रित भएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराउन निक साइमन इन्स्टिच्युटसँग सहकार्य गर्ने समझदारी भएको बताउनु भयो । इन्स्टिच्युटले एकजना एम.डी.जी.पी विशेषज्ञ चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिवद्धता जनाइसकेको र जनशक्ति व्यवस्थित भएसँगै अस्पताल औपचारिक रूपमा सेवा दिन तयार रहेको बताउनु भयो ।
बारपाक सुलिकोट–४ स्थित हुँडिफाँटमा निर्माण भएको यो अस्पताल सञ्चालनमा आएपछि सौरपानी, स्वाँरा, ताकुकोट, पाँचखुवादेउराली लगायतका टाढा–टाढाका बस्तीबाट आएका नागरिकलाई नजिकैबाट नै सुलभ र छिटो स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
स्थानीय तहमै अस्पतालको सञ्जाल विस्तार भइरहनु प्रदेशको दूरदराज क्षेत्रका नागरिकका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ । स्वास्थ्य सेवा पहुँचसँगै गर्भवती महिला, दीर्घरोगी, बालबालिका र वृद्ध नागरिकले जीवनरक्षक सेवामै सहजता पाउने अपेक्षा गरिएको छ ।









