गोरखा, शनिबार, ५ पौष २०८२ । गोरखाको अजिरकोटमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवद्र्धन तथा व्यवस्थापन तालिम सञ्चालन भएको छ । बिहिबार, शुक्रबार र शनिबार तीन दिनसम्म चल्ने सो तालिमको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले उद्घाटन गरेका हुन् ।
वुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेललाई राष्ट्रिय तथा अन्तर्राष्टिङय स्तरमा प्रचार प्रसार गर्ने उद्देश्यले सो सर्किट सञ्चालनमा ल्याउन कार्य योजना बनाउने बारे तीन दिने गोष्टीमा सहजीकरण हुने छ । तालिममा गोरखाका दुई र लम्जुङका तीन गाउँपालिकाका प्रतिनिधिहरु सहभागी छन् । गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लम्जुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकाका उपप्रमुख तथा सम्बन्धित शाखाका प्रमुखहरु सहभागी छन् ।
तालिम नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी) अन्तर्गतको दीगो पर्यटन परियोजना(एसटिपी) तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान)को संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । तालिममा टानका केन्द्रीय सदस्य तथा तालिम विभागका सहसंयोजक अम्बिरबहादुर गुरुङ, अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, टानका निवर्तमान उपाध्यक्ष तथा अजिरकोट गाउँपालिकाका पर्यटन सदभावना दूत धनबहादुर गुरुङ, केन्द्रीय सदस्य पवित्रा तामाङ, परियोजनाका संयोजक युवराज लामा, प्रमुख प्रशिक्षक चेतनाथ कँडेल, प्रशिक्षक कृष्ण गौतम लगायत उपस्थित छन् ।
यस ट्रेलले वुद्ध हिमाल, हिमचुली, मनासिरी हिमश्रृङ्खला तथा उच्च हिमतालहरुलाई समेट्दै नयाँ अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यको विकास गर्ने विश्वास गरिएको छ । यसबाट स्थानीय समुदायमा आधारित दीगो पर्यटन प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । साथै यस क्षेत्रलाई पर्यटन हवका रुपमा विकास गर्ने, पुराना पदमार्ग, गोठालो बाटो र सांस्कृतिक रुटको पहिचान, ट्रेल सुधार, पुल, सिँडी, सुरक्षित बाटो निर्माण, फोहर व्यवस्थापन, खानेपानी, भरियाघर निर्माण, हिमताल, पास तथा जोखिमयुक्त क्षेत्रको सुरक्षा योजना तयार गर्ने लक्ष्य राखिएको छ ।









