गोरखा, बिहीबार, १० पौष २०८२ । सिरानचोक गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले उक्त गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणका लागि ३ करोड रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको छ । केही योजना कटौती, खर्च हुने सम्भावना कम देखिएका योजनाहरुको रकमान्तर गरी पालिका भवनका लागि बजेट उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ठाकुर अर्यालले जानकारी दिए । ‘यस अघि पालिकाको केन्द्र बिबाद सर्वोच्च अदालतमा बिचाराधिन रहेकाले ठेक्का लगाउन पाइन्छ/पाइदैन एकिन थिएन । त्यसैले ३० लाख मात्र बजेट राखेका थियौं,’ उनले भने,‘अदालतको फैसला आइसकेको छ । त्यसैले भवन निर्माणलाई प्राथमिकता दिनुपर्छ भन्ने सबैको धारणा देखियो ।’
उक्त गाउँपालिकाले ठेक्का मार्फत कार्यान्वयन हुने सबै योजनाहरु सम्झौता भई अघि बढाइसकेको जनाएको छ । उपभोक्ता समितिबाट हुने कामहरु पनि धमाधम सम्झौता तथा कार्यान्वयन भइरहेका अर्यालले जानकारी दिए । ६२ करोड ८३ लाख बजेट बिनियोजन गरेको सिरानचोक गाउँपालिकाले हालसम्म हालसम्म १६.७८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु तर्फ २२.८३ प्रतिशत र पुँजीगत तर्फ ४.८८ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए । हालसम्म २४ लाख आन्तरिक आय प्राप्त भएको उनले बताए ।
छोप्राकमा बुधबार भएको सिरानचोक गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशनमा अध्यक्ष ज्ञानेन्द्र गुरुङले बिनियोजन ऐन र उपाध्यक्ष रिता देवकोटाले आर्थिक ऐन पेश गरेका थिए । ‘विनियोजन ऐन २०८२ लाई संशोधन गर्न बनेको ऐन २०८२ र संशोधित आर्थिक ऐन २०८२ सभामा पेश गरी पास गर्ने काम भयो,’ प्रमुख प्रशासकीय अधिकृत ठाकुर अर्यालले भने,‘साथै आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ पनि पारित भएको छ ।’
विधान समितिका संयोजक चन्द्रप्रसाद पोखरेलले उक्त ऐन सभामा पेश गरेका थिए भने सभा सदस्य सुनिता गैरे रम्तेलले समर्थन गरेकी थिइन् । ‘शुन्य तथा नियमित समयमा सभाका सदस्यहरुले पालिकाको बिकास निर्माण र समसामयिक विषयमा आफ्नो भनाई एवं सुझाव पनि राख्नु भयो,’ उनले भने,‘केही योजना संशोधन र हेरफेर समेत भएका छन् ।’









