गोरखा, मंगलबार, २२ पौष २०८२ । नेपाली सेनाको टोलीले आजदेखी गोरखा–काठमाडौँ एकिकरण पदयात्रा ‘२०८२’ सुरु गरेकाे छ । नेपाल एकिकरणका क्रममा प्रयोग भएका पदमार्गको प्रचार–प्रचारका लागि सेनाको टोली गोरखाबाट पदयात्रामा निस्किएको हो ।
गोरखाबाट हिडेको सेनाको टोली धादिङ, नुवाकोटहुँदै यहीँ पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भइ पदयात्रा समापन हुने नेपाली सेना रुद्रध्वज गण गोरखाका गणपति प्रमुख सेनानी विरोध रिजाल जानकारी दिनुभयो ।
गोरखा राज्य विस्तारका क्रममा तत्कालिन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा सेनाले गएको ७ बर्षदेखि पदयात्रा सञ्चालन गर्दै आएको छ । एकिकरण पदयात्राले ऐतिहासिक पदमार्गको व्यापक प्रचार–प्रसार साथै इतिहासको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनमा सहयोग पुग्ने प्रमुख सेनानी रिजालले बताउनु भयो ।
गोरखा दरवारस्थित हनुमान भञ्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झण्डा र टर्च लाईट बोकेर सेनाको टोली पदयात्रामा निस्किएको हो । पृथ्वीनारायण शाहले खडा गरेका तत्कालिन नेपाली सेनाको पहिलो ५ कम्पनी सवुज गणको झण्डा, श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख र बर्दबहादुर गणको झण्डासमेत सेनाले बोकेको छ ।
गोरखाबाट निस्किएको टोलीले आज धादिङस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गर्नेछ भने धादिङको टोलीले नुवाकोटस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण उनले जानकारी दिए ।
त्यस्तै नुवाकोटको सेनाको टोलीले गोरखाबाट बोकेर लगिएको झण्डा र टर्च लाइट काठमाडौँको सेनाको टोलीलाई हस्तान्तरण गर्नेछ । वर्तमान नेपाल एकिकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले गएको ७ बर्षदेखि एकिकरण पदमार्गको रुपमा विकास गर्दै प्रचार–प्रसारका लागि पदयात्रा गर्दै आएको छ ।
पदयात्रामा निस्किएको टोलीलाई नेपाली सेना पश्चिम पृतनाका पृतनापति उपरथी भेलानाथ थापा, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णु पाठकलगायतले एक कार्यक्रमका बिच विदाई गरेका छन् ।









